ललितपुर । ललितपुर महानगरपालिकाले उद्यमी महिलाको उत्पादनलाई बजारसम्म पुर्याउन एलएमसी हाटबजार एप सार्वजनिक गरेको छ । महानगरमा दर्ता भएका उद्यमीले उत्पादन गरेका सामग्रीलाई बजारमा पुर्याउन यो एप निर्माण गरी सार्वजनिक गरिएको हो ।
महिला उद्यमीले आफ्नो उत्पादनको सम्पूर्ण विवरण उक्त एपमा राख्नुपर्छ । क्रेताले एप्समा राखेको सामान खरिद गर्न लगइन गरी अर्डर गर्न सक्छन् । उत्पादित सामग्री एपमा राख्नका उद्यमीले महानगरका सम्पर्क गरी लगइन गर्नुपर्छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्त्वपूर्ण ‘टुल’ भएको बताए ।
उनले भने ‘आइटीको जमानामा महानगरले सार्वजनिक गरेको यो एप महत्वपूर्ण हो ।’ महिला उद्यमीको उत्पादन बजारमा ल्याउन यो एपले धेरै मद्दत गर्ने उनले जानकारी दिए ।
प्रमुख महर्जनले सम्पूर्ण महिला उद्यमीलाई यो एप सक्दो प्रयोग गर्न अनुरोध गरेका छन् । यो एपले ‘उत्पादन छ तर बजार छैन’ भन्ने कुरालाई हल गर्न केही हदसम्म सहयोग गर्ने महानगरको विश्वास छ ।
महानगरका उपप्रमुख तथा महिला उद्यमशीलता सहजीकरण केन्द्रका संयोजक मञ्जली शाक्य बज्राचार्यले उद्यमीले उत्पादन गरेको उत्पादनले बजार नपाइराखेको अवस्थामा बजारसम्म उत्पादनलाई पु¥याउन यो एप महत्त्वपूर्ण हुने बताइन् ।
उनले भनिन्, ‘उद्यम र व्यवसाय एकै होइन, उद्यमीले व्यवसाय सञ्चालन गर्न गाह्रो हुन्छ, यो एपले उद्यमीलाई क्रेतासँग जोड्न सजिलो बनाउँछ, जसले बजार खोज्ने सहयोग पुग्छ ।’
वर्षैपिच्छे वडा र महानगरले धेरै वटा हाट बजार सञ्चालन गरेपनि सधैं सञ्चालन भइरहने बजारका लागि यो एप ल्याएको उपप्रमुखको भनाइ छ ।
महिला शाखा प्रमुख शोभादेवी खरेलले महिला उद्यमीलाई आफ्नो उत्पादनको बिक्री वितरण गर्न यो एप महत्त्वपूर्ण हुने धारणा राखिन् । उनका अनुसार एपमार्फत खरिद बिक्री गर्दा मध्यस्तकर्ताको आवश्यकता पर्दैन ।
क्रेताले विक्रेतासँगको सिधैं मोलमोलाई गर्न सक्छन् । सामानको गुणस्तरको बारेमा सोधपुछ गर्न सक्छन् ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) कलेजका डा. विनोदकृष्ण श्रेष्ठले महानगरले उद्यम र उद्यमशीलतालाई महत्त्व दिएर एप सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे । उद्यमी र क्रेताबीच सिधै सम्पर्क हुने यो एपले उत्पादनको बजारिकरणलाई सहयोग पुग्ने बताए ।
यसैगरी, एप सार्वजनिक कार्यक्रमपछि उद्यमशीलतासम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम समेत आयोजना गरिएको छ ।
महानगरले पहिलो चरणमा यो एपमा ५० जनाभन्दा बढी महिलाहरूलाई तालिमसहित आबद्ध गराइसकेको छ । विस्तारै अन्य महिला उद्यमीहरूलाई यो एपमा आबद्ध गराउने योजना महानगरले राखेको छ ।
महानगरका अनुसार महानगरभित्र २५ सय १ जना महिलाहरूले आफ्नो उद्यम व्यवसाय दर्ता गरेर सञ्चालन गरिरहेका छन् । महानगरका अनुसार दर्ता नभएका समूहमा आबद्ध भएर उद्यम गरिरहेका महिलाहरूको तथ्यांक भने संकलन हुन बाँकी छ । ती महिलाहरूले उत्पादन गरेको उत्पादनलाई पनि यस एपमा आबद्ध गराउने लक्ष्य महानगरले राखेको छ ।