काठमाडौं । ललितपुरको पुल्चोकस्थित इम्बार्क कलेजले विद्यार्थीलाई पढाइसँगै रोजगारी र उद्यमशीलतामा अगाडि बढाउने उद्देश्यले दुई नयाँ कार्यक्रम सुरु गरेको छ ।
कलेजले बिहीबार ‘व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ सार्वजनिक गर्दै उच्च शिक्षा र रोजगारीबीचको खाडल कम गर्ने घोषणा गरेको हो ।
कलेजका सीइओ आशिष ठाकुरले भने, ‘यो कार्यक्रमले स्नातकपछि हुने अनिश्चिततालाई अन्त्य गर्दै करियर–रेडी शिक्षाको नयाँ मापदण्ड नेपालमै ल्याएको छ ।’
उद्योगसँग साझेदारीमार्फत विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्ने, संरचित तालिम, सीप मूल्याङ्कन र व्यावसायिक परामर्श दिइने, उद्योगलाई दक्ष जनशक्ति प्रदान गर्ने र विद्यार्थीलाई स्थायी करियर मार्गदर्शन दिने कलेजले जनाएको छ ।
स्टार्टअप क्षमता विकास कार्यक्रम कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय सञ्चालन भएका तथा वार्षिक कारोबार १५ करोड भन्दा कम भएका स्टार्टअप व्यवसायहरूलाई लक्षित गरिएको हो ।
कार्यक्रम नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी तयार गरिएको हो ।
इम्बार्क कलेज हाल बीएस्सी बिजनेस म्यानेजमेन्ट, एमबीए र एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले यी नयाँ पहलमार्फत विद्यार्थीलाई पढाइसँगै कमाउने अवसर र उद्यमशीलताको नयाँ बाटो खोल्ने दाबी गरेको छ ।
