सुरतका हीरामा ट्रम्पको ट्यारिफ संकट, २५ लाखभन्दा बढी कामदार प्रभावित

काठमाडौं । भारतको गुजरात स्टेटको सुरतस्थित हीरा उद्योगका व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण चिन्तित छन् ।

सुरत संसारभर हीरा काट्ने र पोलिस गर्ने केन्द्रको रूपमा परिचित छ, तर अहिले यसै उद्योगमा भर पर्नेहरू जोखिममा छन् ।

अमेरिकाले लगाएको ५० प्रतिशत ट्यारिफले यस क्षेत्रका व्यापारीसँगै श्रमिकहरूलाई समेत चिन्तित बनाएको छ । हिरा उद्योगसँग जोडिएका २५ लाखभन्दा बढी कामदार प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकाले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाउँदा यसको सबैभन्दा ठूलो असर सुरतको हीरा उद्योगमा परेको छ किनकि यो उद्योग अमेरिकामा हुने निर्यातमै धेरै भर पर्छ ।

कसैकसैको धारणा छ– यदि ट्यारिफ घटाइएन भने धेरै व्यापारी उद्योगबाट बाहिरिनेछन्, कामदारले रोजगारी गुमाउनेछन् र गहिरो मन्दी आउनेछ ।

तर अर्कोतर्फ सुरत डायमन्ड एसोसिएसन र साउथ गुजरात चेम्बर अफ कमर्सजस्ता संस्थाहरू भने अमेरिकी ट्यारिफले केही मन्दी ल्याउने भए पनि समयसँगै अवस्था स्थिर हुने बताउँछन् ।

उनीहरूको भनाइमा भारतलाई जति हीरा उद्योग चाहिन्छ, अमेरिकामा पनि त्यत्तिकै माग छ । त्यसैले त्यहाँका व्यापारीहरू समेत समाधान खोजिरहेका छन् ।

सुरतका कारखानामा ट्रम्पको ट्यारिफको असर

सुरतका सडकमा बिहान बेलुकी ट्राफिक जाम हुनु सामान्य कुरा हो, किनकि त्यही बेला कालिगढहरू काममा जाने वा फर्किने गर्दछन् ।

सहरका सयौं साना फ्याक्ट्रीहरूमा २० देखि २०० सम्म श्रमिकहरू काम गर्छन् । कतिपयमा यो संख्या ५०० सम्म पुग्छ । सुरतमा हजारौं यस्ता कारखाना छन् ।

कतारगामस्थित एक हीरा पालिस गर्ने क्षेत्रमा धुलो जमेको छ, पोलिस गर्ने चक्की धेरै दिनदेखि बन्द छ । केवल छ जना मात्र काम गरिरहेका छन् ।

त्यहाँका एक कालिगढ भन्छन्, ‘पहिले यहाँ कालिगढहरूको भीड लाग्थ्यो । भर्खरै धेरैलाई कामबाट निकालियो । अब हाम्रो भविष्य के हुन्छ भन्ने थाहा छैन ।’

यो अवस्था सुरतका धेरै साना–ठूला कारखानामा देखिएको छ ।

२० वर्षअघि शैलेश मंगुकियाले एउटा पोलिसिङ चक्कीबाट व्यवसाय सुरुवात गरेका थिए । विस्तारै व्यापार बढ्दै गयो, श्रमिक संख्या ३ बाट ३०० पुग्यो । तर अहिले उनको कारखानामा केवल ७० मात्र बाँकी छन् ।

बीबीसी गुजरातीसँग उनले भने, ‘सबै अर्डर रद्द भएका छन् । मजदुरलाई काम छैन भन्नुपरेको छ । यो धेरै पीडादायी अवस्था हो, किनकि कसलाई राख्ने, कसलाई निकाल्ने भन्ने नै थाहा छैन । सबै परिवारका सदस्यजस्तै छन् । तर अर्डर नभएकाले काम छैन, काम नभएकाले तलब दिनसक्ने स्थिति छैन ।’

गत वर्ष अगस्टमा महिनामा करिब २ हजार हीरा प्रोसेस हुन्थे, यो वर्ष मात्र ३०० मा झरेको छ । यदि यस्तो नै रह्यो भने कारखाना बन्द गर्नुपर्ने डर उनी व्यक्त गर्छन् ।

सुरेश राठौरजस्ता श्रमिकहरू भन्छन्, ‘साधारणतया जन्माष्टमीमा हामीलाई दुई दिन बिदा मिल्थ्यो । यसपालि भने १० दिन तलबबिनाको बिदा दिइयो । मालिक के गर्ने ? अर्डर नै छैन ।’

सुरत डायमन्ड पालिसर्स युनियनका उपाध्यक्ष भावेश टांक भन्छन्, ‘धेरै कालिगढहरूले तलब कटौती वा रोजगारी गुम्ने गुनासो गरिरहेका छन् ।’

उनका अनुसार धेरै फ्याक्ट्रीले अगस्ट १ अघि नै माल पठाइसकेका थिए । त्यसैले नयाँ अर्डर पाइएन र हजारौं मजदुरको आम्दानी घट्यो ।

निर्यातकर्ताहरू समेत अनिश्चिततामा छन् । उद्योग जगतले एउटा विशेष ‘डायमन्ड टास्क फोर्स’ बनाएर समाधान खोज्ने कोसिस गरिरहेको छ ।

दक्षिण गुजरात चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष निखिल मद्रासी भन्छन्, ‘अमेरिकी बजारमा अत्यधिक निर्भरता भएकाले दीर्घकालीन असर ठूलो हुनेछ । पुराना अर्डर त पुरा भए, तर नयाँ अर्डरको भविष्य अनिश्चित छ । सरकारले तत्काल सहयोग गर्नुपर्छ ।’

कतिपय व्यापारी मध्यपूर्व र युरोपतिर ढोका खोजिरहेका छन्, कोही बाइपास मार्ग प्रयोग गरेर अमेरिकासम्म सामान पुर्याउने प्रयासमा छन् ।

जेम एण्ड ज्युवलरी एक्सपोर्ट प्रमोशन काउन्सिल (जीजेईपीसी) का गुजरात अध्यक्ष जयन्तीभाइ सावलिया भन्छन्, ‘अब अमेरिकामाथिको निर्भरता घटाएर दुबई, अस्ट्रेलिया, युरोपजस्ता बजारमा ध्यान दिनुपर्ने बेला आएको छ । यदि अर्डर पाइएन भने मजदुरको तलब र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।’

‘हाल अमेरिकालाई हुने कुल निर्यात करिब १२ अर्ब डलर छ । यसमध्ये आधा मात्र अरू मुलुकमा सार्न सकियो भने सुरतको हिरा उद्योग जोगिन सक्छ,’ उनले थपे ।

सुरत डायमन्ड एसोसिएसनका अध्यक्ष जगदीश खुंट भन्छन्, ‘अमेरिका भारतीय हीराबिनाको कल्पना गर्न सक्दैन । विश्वका १५ मध्ये १४ वटा हीरा गुजरातमै कलात्मक बनाइन्छ । त्यसैले त्यहाँका व्यापारी पनि समाधान खोजिरहेका छन् ।’

गत वर्षमात्र अमेरिकाले भारतबाट करिब ११.५८ अर्ब डलर मूल्यका हीरा आभूषण आयात गरेको थियो । यसमध्ये ५.६ अर्ब डलर पालिस गरिएका हीरा थिए ।

गत वर्षसम्म पालिस गरिएका हीरामा कुनै कर थिएन, तर अहिले बढेको करले सम्पूर्ण व्यापार हल्लाएको छ ।

सुरतका कारखानामा अहिले डर र असमञ्जसको वातावरण छ । दैनिक ज्याला मजदुरी गर्नेका लागि तलब कटौती वा बिनातलबको बिदा सहन कठिन भइरहेको छ।

व्यापारी नयाँ बजार खोज्दैछन् भने मजदुरहरू रोजगारी गुम्ने त्रासमा छन् ।

शैलेश मंगुकिया आँखाभरि आँसु पारेर भन्छन्, ‘यहाँको चमक बिस्तारै मन्द हुँदै गइरहेको छ... र यो फेरी फर्केर आउला कि आउँदैन, थाहा छैन।’

बीबीसी हिन्दीबाट अनुदित तथा सम्पादित सामग्री

अमेरिकी करको मारले कोरियाली अर्थतन्त्र संकटमा

एनभीडीयाको आम्दानी ५६ प्रतिशत वृद्धि, तर सेयर किन घट्दैछ ?
 

Share News