एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयमा गणित शिक्षामा परिवर्तन ल्याउँदै

काठमाडौं । एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकाल्दै रोचक र वास्तविक जीवनसँग जोडिएको सिकाइमा रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।

यही मिशनअनुसार, अनम्याथ टिमले अगस्त ३ देखि ८ गतेसम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा २५ भन्दा बढी विद्यालयमा गणित शिक्षासम्बन्धी पहुँच कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमका क्रममा प्रधानाध्यापक, शैक्षिक संयोजक र शिक्षकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गणितलाई कसरी व्यावहारिक, सजिलो र आकर्षक बनाउन सकिन्छ भन्नेबारे छलफल गरियो । यस अवसरमा ‘अनम्याथ जिल्ला योजना’, ‘गणितको कथा भन्ने’, ‘उद्यमशील गणित’ र ‘म्याथ म्युजियम’ जस्ता अनुभवमूलक सिकाइ कार्यक्रमहरूको परिचय गराइयो ।

अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने, 'हामीलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जसबाट विद्यार्थीहरू नडराउँन् । विद्यालय भ्रमणले हामीलाई विशेष आवश्यकताहरू बुझ्न र त्यसअनुसार समाधान तयार गर्न मद्दत गरेको छ ।'

कार्यक्रममा सहभागी भएका शिक्षकहरूले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्या समाधान गर्ने र विद्यार्थीहरूको जिज्ञासा बढाउने गतिविधिमूलक सिकाइ प्रभावकारी हुने विश्वास व्यक्त गरे । लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने, 'गणितलाई व्यावहारिक र वास्तविक जीवनसँग जोड्ने यो तरिका विद्यार्थीहरूका लागि निकै उपयुक्त छ ।'

विद्यालयहरूको मागअनुसार अनम्याथले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने, निरन्तर सम्पर्कमा रहने र आवश्यकता अनुसार विशेष योजना बनाउने लक्ष्य राखेको छ । यस पहलमार्फत रुपन्देहीका कक्षाकोठामा दीर्घकालीन रूपमा नयाँ र गुणस्तरीय गणित शिक्षा प्रवर्द्धन गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

Share News