काठमाडौं । नेपाली चेन रेस्टुरेन्ट बाजेको सेकुवा लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने निर्णय गरेको हो ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २ गते रजिस्टर्ड कार्यालय बत्तीसपुतली काठमाडौंमा दिउँसो ३ बजे १६ औँ वार्षिक साधारण सभा समेत आह्वान गरेको छ ।
सभाले अन्य कम्पनीसँग मर्जर सम्झौता र डीडीए गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी अद्यावधिक गर्दा तथा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन आवश्यक भएमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालकलाई अख्तियारी प्रदान गर्नेछ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।