पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत

पोर्शे तथा फक्सवागनका सीईओ ओलिभर ब्लुमे । फाइल तस्बिर ।

काठमाडौं । लक्जरी स्पोर्ट्स कार निर्माता पोर्शेले आफ्ना सीईओ ओलिभर ब्लुमेको उत्तराधिकारी खोज्ने प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ । यसले पोर्शे र प्यारेन्ट कम्पनी फक्सवागनमा उनको दोहोरो भूमिका अन्त्य हुने संकेत गरेको छ ।

२०२२ सेप्टेम्बरमा पोर्शे छुट्टै कम्पनीका रूपमा सूचीबद्ध भएपछि ब्लुमेको दोहोरो पद सेयरधनीहरूबीच विवादास्पद बनेको थियो । लगानीकर्ताहरूले शासन प्रणालीसम्बन्धी चिन्ता औंल्याउँदै बारम्बार उनलाई एउटा पदबाट हट्न दबाब दिँदै आएका छन् ।

ब्लुमेले यो दोहोरो भूमिका स्थायीका लागि नभएको बताउँदै आएका भए पनि उनले यसै महिना सम्बन्ध विच्छेदको मिति तोकिएको छैन भन्दै ‘यस वर्ष कसरी अघि बढ्छौं, हेर्नेछौं’ भनेका छन् ।

फक्सवागन, पोर्शे एजी र पोर्शे एसईले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

समाचार बाहिरिएसँगै पोर्शेका सेयर १.१ प्रतिशतले बढे, जसलाई पहिलोपटक जर्मन पत्रिका विर्ट्सचाफ्ट्सवाेचले प्रकाशन गरेको थियो ।

पत्रिकाले कम्पनी र वित्तीय स्रोतहरूलाई उद्धृत गर्दै उत्तराधिकारीबारे छलफल भइरहेको र शरद ऋतुमा नियुक्ति हुने अपेक्षा गरिएको जनाएको छ । यसका लागि आन्तरिक र बाह्य दुवै उम्मेदवारलाई विचाराधीन राखिएको बताइएको छ ।

पोर्शे र पियेख परिवारले गत मे महिनामा पोर्शे एसईको वार्षिक साधारण सभामा ब्लुमेप्रति निरन्तर समर्थन व्यक्त गरेका थिए ।

हाल पोर्शेले चीनमा आफ्ना स्पोर्ट्स कारहरूको कमजोर माग, सुस्त विद्युत् सवारीतर्फको संक्रमण र अमेरिकाले लगाएको उच्च ट्यारिफका कारण नाफा लक्ष्य घटाउनुपरेको अवस्थाबीच महँगो पुनर्संरचना प्रक्रिया अघि बढाइरहेको छ ।

२०२२ मा फक्सवागनभन्दा उच्च मूल्याङ्कनसहित सूचीबद्ध भएको पोर्शेको सेयर त्यसयता करिब ४५ प्रतिशत घटिसकेको छ ।

निसानमा मर्सिडिज-बेन्जको हिस्सेदारी समाप्त, ३२५ मिलियन डलरमा डिल

अटो पाइलट दुर्घटना मुद्दा : सम्झौता प्रस्ताव अस्वीकार गर्दा टेस्लालाई घाटा, २४३ मिलियन डलर क्षतिपूर्ति

Share News