स्मार्ट च्वाइस टेक्नोलोजिज पीसीआइ एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्स काउन्सिल (पीसीआइ एसएससी) को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । यस बोर्डमा नेपालबाट चयन हुने एकमात्र संस्था एसटीसी हो ।

एसटीसीसँगै गुगल, नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया र युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला कम्पनीहरूले पनि यस बोर्डमा प्रतिनिधित्व गर्नेछन् । विश्वव्यापी स्तरमा भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड विकास र प्रवर्द्धन गर्दै आएको पीसीआइ एसससीले डिजिटल भुक्तानीमा देखिएका साइबर तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउँदै आएको छ ।

भारत–दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पीसीआइ एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गरेको छ । एसटीसीले बोर्ड सदस्यका रूपमा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने, मापदण्ड र कार्यक्रम विकासका लागि सुझाव प्रदान गर्ने तथा दक्षिण एशियाभर पीसीआइ एसससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे सचेतना अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्नेछ ।

स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले नेपालबाट यस प्रतिष्ठित मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, 'यो सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो विशेषज्ञता मार्फत योगदान गर्दै भुक्तानी प्रणालीलाई अझ सबल बनाउन क्षेत्रीय सहकार्यलाई मजबुत बनाउनेछौं ।'

Share News