काठमाडौं । जर्मन अटोमेकर मर्सिडिज-बेन्जको पेन्सन ट्रस्टले जापानी अटोमेकर निसान मोटरमा रहेको आफ्नो सम्पूर्ण सेयर ४७.८३ अर्ब येन (३२४.६५ मिलियन डलर) मा बिक्री गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसले जनाएको छ ।
सोमबार मर्सिडिज–बेन्जले निसानमा रहेको आफ्नो ३.८ प्रतिशत सेयर बिक्री गर्ने घोषणा गरेपछि जापानी अटोमेकरको सेयरमूल्य एकैदिनमा ६ प्रतिशतभन्दा बढी घट्यो । जुलाईको सुरुयता आएको यो सबैभन्दा ठूलो एकदिने गिरावट हो ।
निसानको सेयर घट्नुको कारण लगानीकर्ताहरूको कम्पनीको सुधार योजनाप्रति रहेको शंका हो । अमेरिकी र चिनियाँ बजारमा शुल्क तथा बिक्री घट्दै गएको अवस्थामा निसानले जुनमा अन्त्य भएको तीन महिनामा ५३५ मिलियन डलर घाटा व्यहोरेको थियो ।
यसअघि निसान र दीर्घकालीन साझेदार रेनोबीच साझेदारीमा संशोधन गर्ने सहमति भएको थियो, जसअनुसार रेनोको न्यूनतम सेयर हिस्सेदारी १५ प्रतिशतबाट १० प्रतिशतमा झार्न सकिने व्यवस्था गरिएको थियो ।
स्रोतका अनुसार मर्सिडीज–बेन्जले निसानको सेयर प्रतिसेयर ३४१.३ येनमा बेचेको हो, जुन सोमबारको बन्द मूल्य ३६३ येन भन्दा ५.९८ प्रतिशत कम हो । रोयटर्सले देखेको कागजातअनुसार बिक्री मूल्य ३३७.५ येनदेखि ३४१ येनको दायरा तोकिएको थियो ।
बिक्री गरिएका भन्दा बढी माग आएपछि शीर्ष १० लगानीकर्ताले करिब ७० प्रतिशत सेयर पाएका थिए ।
निसानले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने मर्सिडिज–बेन्जले पनि आफ्नो अघिल्लो वक्तव्यबाहेक थप केही टिप्पणी नगर्ने जनाएको छ ।
मर्सिडिज-बेन्जका प्रवक्ताले सोमबार बताएका छन् कि २०१६ मा कम्पनीको पेन्सन कोषमा स्थानान्तरण गरिएको निसानको सेयर रणनीतिक हिसाबले त्यति महत्त्वपूर्ण नभएकाले यसलाई बेच्नु कम्पनीको लगानी पोर्टफोलियोलाई व्यवस्थित गर्ने नियमित प्रक्रियाको हिस्सा मात्रै हो ।
रेनोसँग निसानको ३५.७ प्रतिशत सेयर छ, जसमा १७.०५ प्रतिशत प्रत्यक्ष र बाँकी ट्रस्टमार्फत राखिएको छ । फ्रान्सेली अटोमेकर रेनोले गत महिनामात्रै निसानमा रहेको सेयरका कारण ११ अर्ब डलर घाटा देखाएको थियो ।
विश्लेषक क्रिस्टोफर रिच्टरका अनुसार रेनोले निसानमा रहेको हिस्सेदारी क्रमशः घटाउँदै जाने सम्भावना छ, तर बजारमा सिधै बेच्न मिल्ने सीमितता सम्झौतामा भएकोले तत्काल ठूलो बिक्री सम्भव छैन ।
‘पहिले निसानको वित्तीय स्थिति राम्रो हुँदा कम्पनी आफैले ती सेयर खरिद गर्ने चाहना राख्थ्यो,’ उनले भने, ‘तर अहिले निसानको नगद स्थिति कमजोर भएकाले रेनोबाट सेयर खरिद गर्ने सम्भावना कम देखिन्छ ।’
निसानका नयाँ सीईओ इभान एस्पिनोसाले नाफा फर्काउने उद्देश्यसहितको सुधार योजना सार्वजनिक गरेका छन् । यसमा २०२७ सम्ममा उत्पादन क्षमता ३.५ मिलियनबाट २.५ मिलियन सवारीसाधनमा झार्ने र उत्पादन केन्द्र १७ बाट १० मा सीमित गर्नेजस्ता कदम समावेश छन् ।
गत महिना एस्पिनोसाले निसान अझै पुनरुत्थानको प्रारम्भिक चरणमा रहेको बताए तर लागत कटौतीमा प्रगति भइरहेको स्पष्ट गरे ।
टोकाइ टोकियो इन्टेलिजेन्स ल्याबोरेटरीका वरिष्ठ विश्लेषक सेइजी सुगिउराले भने, ‘साझेदारी कमजोर हुँदै गएकाले रेनोले निसानमा रहेको हिस्सेदारी क्रमशः घटाउँदै जाने अपेक्षा गरिएको छ ।’
निसानलाई अघिल्लो प्रमुख कार्लोस घोसन हटाइएपछि लगातार समस्या आइरहेको छ । रेनो–निसान गठबन्धनका अभियन्ता मानिने घोसनलाई टोकियो अभियोजनकर्ताले वित्तीय कदाचारको आरोप लगाएका थिए तर उनले यी आरोप अस्वीकार गर्दै आएका छन् ।