बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमले आज भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । 

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ । 

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

Share News