काठमाडौं । अरबपति एलन मस्कको विद्युतीय सवारीसाधन कम्पनी टेस्लाले सन् २०१९ मा भएको अटो–पायलट प्रणालीसहितको मोडल एसको घातक दुर्घटनासम्बन्धी मुद्दामा ६० मिलियन डलरको सम्झौता प्रस्ताव अस्वीकार गरेको थियो । तर यसै महिनामा जुरी (निर्णायकको समूह) ले उक्त मुद्दामा २४३ मिलियन डलर क्षतिपूर्ति गराउने निर्णय सुनायो ।
मुद्दाका वादी पक्षका वकिलहरूले सोमबार मियामी, फ्लोरिडाको संघीय अदालतमा दायर गरेको निवेदनमा उक्त सम्झौता प्रस्ताव खुलासा गरेका हुन् । उनीहरूले टेस्लाबाट कानुनी शुल्क असुल्ने माग पनि गरे । उनीहरूले फ्लोरिडा कानुनअनुसार गत मे ३० देखि वादीले गरेको कानुनी खर्च उठाउने अधिकार रहेको पनि बताए ।
टेस्ला वा त्यसलाई प्रतिनिधित्व गर्ने वकिलले तत्काल कुनै प्रतिक्रिया जनाएनन् । वादी पक्षका वकिलहरूले पनि तत्काल टिप्पणी गरेनन् ।
यो मुद्दा सन् २०१९ अप्रिलमा भएको दुर्घटनामा केन्द्रित थियो । उक्त दुर्घटनामा अटो–पायलट ड्राइभर–सहायक सफ्टवेयरसहितको मोडल एसले सडकको छेउमा पार्क गरिएको शेभरोलेट टाहो कारलाई ठक्कर दिएको थियो । त्यसबेला कारको छेउमा उभिएका व्यक्तिहरू दुर्घटनामा परेका थिए ।
जुरीले मृत्यु भएकी नाएबेल बेनाभिडेस लिओनको परिवारलाई र गम्भीर घाइते भएका उनका प्रेमी डिलन एङ्गुलोलाई संयुक्त रूपमा १२९ मिलियन डलर क्षतिपूर्ति (कम्पेन्सेटरी ड्यामेज) र २०० मिलियन दण्डात्मक क्षतिपूर्ति दिने आदेश दियो । सो क्षतिपूर्तिमध्ये ३३ प्रतिशत (अर्थात् ४२.६ मिलियन) टेस्लाले व्यहोर्नुपर्नेछ भने सम्पूर्ण २०० मिलियन दण्डात्मक क्षतिपूर्ति पनि टेस्लाले नै तिर्नुपर्नेछ ।
जुरीले कार चालकलाई ६७ प्रतिशत क्षतिपूर्ति जिम्मेवार ठहर गरे पनि उनी प्रतिवादी थिएनन् ।
टेस्लाले भने कुनै गल्ती नगरेको दाबी गर्दै निर्णयले ‘सडक सुरक्षा पछाडि धकेल्ने र टेस्ला तथा सम्पूर्ण उद्योगले जीवनरक्षक प्रविधि विकास र कार्यान्वयन गर्न गरेको प्रयासलाई खतरामा पार्ने’ बताएको छ । टेस्लाले यसविरुद्ध अपिल गर्ने जनाएको छ।
वादी पक्षका वकिलहरूका अनुसार यो मुद्दा अटो–पायलटका कारण तेस्रो पक्षको मृत्यु भएको पहिलो मुद्दा हो जसमा अदालतले निर्णय सुनायो ।
टेस्लामाथि यसअघि पनि स्व–चालित क्षमतासम्बन्धी मुद्दा दायर भएका थिए तर ती मुद्दा मिलापत्र वा खारेज भएर सुनुवाइसम्म पुगेका थिएनन् ।