काठमाडौं । नेपाली हवाइ क्षेत्रमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको श्री एयरलाइन्सले आईपीओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
साढे दुई दशकदेखि नेपाली हवाइ क्षेत्रमा सञ्चालनमा रहेको श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् ।
मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ ।
आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक साधारण सभा असोज २ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे बोलाएको छ ।
सभामा कम्पनी भित्रका यावत गतिविधि एवं आईपीओ निष्काशन गर्ने शिलशिलामा हालसम्म भए गरेका कार्य प्रगतिको समीक्षा एवम् भावी कदमको सम्बन्धमा छलफल गर्नेछ । यस्तै, आईपीओ निष्काशनका लागि आवश्यक प्रबन्ध पत्र र नियमावलीमा शंसोधन गर्न अख्तियारी दिनेछ ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड-विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई-८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ ।
गत आव २०८१/८२ (सन् २०२५) को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।