काठमाडौं । नेपालको सौन्दर्य, इतिहास र संस्कृतिलाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको 'काठमाडौं क्रोनिकल्स' एक अनौठो र रमाइलो अनुभवका रूपमा सार्वजनिक गरिएको छ ।
एमक्यूब नेपाल अन्तर्गत म्यारियट काठमाडौंद्वारा हरेक वर्ष आयोजना हुने रिट्रिट स्वरूप ल्याइिएको यो पहलले सहकार्य र सम्बन्धलाई सम्मेलन हलमा मात्र सीमित नराखी नेपालको जीवित सम्पदासम्म पुर्याउने प्रयास गरेको हो । कार्यक्रम विशेष रूपमा म्यारियटका एमआइसी (मीटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) पार्टनर र सरोकारवालाहरूका लागि तयार पारिएको हो ।
यसले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै काठमाडौंको सांस्कृतिक सम्पदालाई पर्यटकीय यात्रामार्फत चिनाउने लक्ष्य राखेको आयोजकहरूले जनाएका छन् ।
काठमाडौं क्रोनिकल्सको मुख्य आकर्षण भनेकै उपत्यकाका तीन प्रमुख सम्पदा स्थलहरू काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथमा आयोजना गरिने 'ट्रेजर हन्ट' हो । सहभागीहरूलाई बीवाइडीका गाडीमार्फत यी स्थलहरूमा पुर्याइनेछ, जहाँ उनीहरूले पजल समाधान गर्ने, टास्क पूरा गर्ने र ऐतिहासिक स्थलका कथालाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाउनेछन् ।
यो अनुभवले काठमाडौंलाई अन्तर्राष्ट्रिय स्तरमा एमआइसी गन्तव्यका रूपमा प्रस्तुत गर्दै यहाँका व्यवसायिक सम्मेलनलाई सांस्कृतिक पर्यटनसँग जोड्न सकिने प्रमाणित गर्ने आयोजकहरूको विश्वास छ ।
ऐतिहासिक चौतारोदेखि प्राचीन मन्दिरसम्म, प्रत्येक स्थल सहभागीका लागि रमाइलो गर्ने, ज्ञान साटासाट गर्ने र टिम स्पिरिट जगाउने अनौठो अनुभवमा परिणत हुनेछ । कार्यक्रम म्यारियट काठमाडौंबाट सुरु भई फेयरफिल्ड बाइ म्यारियटमा समापन हुनेछ । समापन समारोहमा विजेता टोलीलाई 'काठमाडौं एक्सपर्ट्स' को उपाधि प्रदान गरिनेछ ।
एमक्यूब र बीवाइडीबीचको यस सहकार्यले सहभागीलाई केवल मीठा सम्झनाहरू मात्र नभई काठमाडौंलाई सम्पदा र अतिथ्यको सहरका रूपमा चिन्ने नयाँ दृष्टिकोण समेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।