वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

हैजा संक्रमितको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका खानेपानी मन्त्री प्रदीप यादव । फाइल तस्बिर

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिए ।

‘आइतबार बेलुका ८ः०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए,’ उनले भने, ‘सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् । हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने ।

‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहनुभएको छ । सम्भवतः आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा  राखेका छौं,’ उनले थपे ।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए ।

‘नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।’

प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे ।

‘हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,’ उनले भने, ‘भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ  । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।’

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवतः आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए ।

नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा  तीन जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् । 

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप आठ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।

Share News