सरकारले सुरु गरेको स्वर्णकल्प खुवाउने अभियान रोक्न निपासको आग्रह

काठमाडौं । बालबालिकालाई स्वर्णभस्म/स्वर्णकल्प खुवाउने सरकारी अभियान विरोध गरिएको छ । नेपाल पेडियाट्रिक सोसाइटी (निपास)ले हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण नभएको भन्दै यो अभियान रोक्न माग गरेको छ । 

सोसाइटीले एक विज्ञप्ति निकाल्दै यो अभियान अगाडि नबढाउन भनेको छ । ‘स्वर्णभस्ममा बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएको हुँदा शिशुहरूमा स्वर्णकल्प बाट 'प्रतिरक्षा प्रणालीको वृद्धि' हुने आधारको अभाव, हेवी मेटल (गोल्ड) सम्बन्धी जोखिम, र औषधी व्यवस्था विभागमा दर्ता व्याच–परीक्षण सार्वजनिक नभएका कारण यसमा हाम्रो असहमति छ,’ निपासले निकालेको विज्ञप्तिमा भनिएको छ । 

वैज्ञानिक प्रमाण, बाल–सुरक्षा र नियामक पारदर्शिता नआएसम्म यो अभियान स्थगित गर्न निपासले सरकार समक्ष आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको अगुवाइमा सरकारले देशका २५ वटा आयुर्वेदिक संस्थाहरूबाट स्वर्णकल्प खुवाउने कार्यक्रम राखेको छ । भदौ ५ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको धनगढी पुगेर स्वर्णकल्प खुवाउने कार्यक्रम सुरु गरेका थिए । 

सरकारले पहिलो चरणमा छ महिना देखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्ण विन्दु थोपा खुवाउन सुरु गरेको थियो । यो  कार्यक्रमका लागि करिब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

null

Share News