नाडा अटो शो डेढ लाख जनाले गरे अवलोकन, उड्ने ट्याक्सी र रोबोटले जित्यो मन

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हलमा ६ दिनसम्म चलेको सवारीसाधनको महाकुम्भ १७ औं संस्करणको नाडा अटो शो आइतबार सम्पन्न भएको छ । भदौ ३ गतेदेखि सुरु भएको यो मेला केवल गाडीहरूको प्रदर्शनी मात्र नभई भविष्यको यातायात प्रविधिको एक उत्सव पनि बन्यो । 

डेढ लाखभन्दा बढी अवलोकनकर्ताले नाडा अटो शोमा अवलाेकन गरेकाे नाडाले जनाएको छ ।

विगतमा गाडी र पार्टपुर्जाको प्रदर्शनीमा सीमित नाडाले यसपटक प्रविधिको फड्को मार्दै ‘उड्ने ट्याक्सी’ र ‘रोबोट’ लाई प्रदर्शनीको केन्द्रमा राख्यो । यही नवीनताले नै अवलोकनकर्ताको मन जित्यो र अटो शोलाई चर्चाको शिखरमा पुर्यायो ।

यसपटकको अटो शोको आकर्षणको केन्द्रबिन्दु थियो, ‘उड्ने कार’ । सहरको आकाशमा गुड्ने गाडीको कल्पनालाई साकार पार्ने यो प्रविधि हेर्न सर्वसाधारण मात्र होइन, देशका शीर्ष नेतृत्वको पनि बाक्लो उपस्थिति देखियो । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालजस्ता राजनीतिज्ञहरूले चासोका साथ यसको अवलोकन गरेका थिए ।

null

अध्यक्ष चौधरीले यस पटकको अटो शोमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै यसलाई सम्पूर्ण अटोमोबाइल क्षेत्रको सफलताको रूपमा रहेको दाबी गरे । 

‘यो सफलता सम्पूर्ण व्यवसायी र अवलोकनकर्ताहरूको हो । प्रदर्शनकर्ताहरूको मुहारमा देखिएको सन्तुष्टि र खुसी नै हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो,’ उनले भने, ‘यसले मलाई राम्रो काम गर्न थप ऊर्जा मिलेको छ । ’

यस संस्करण विगतका संस्करणभन्दा फरक र विशेष रहेको बताउँदै अध्यक्ष चौधरीले विगतमा गाडी मात्र प्रदर्शन हुने गरेकोमा यस पटक ‘उड्ने ट्याक्सी’ र ‘मेकानिकल रोबोट’ जस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शन गरेर नयाँ सम्भावनाको ढोका खोलिएको बताए । 

उनले भने, ‘हामीले ‘स्काई इज द लिमिट’ भन्ने सोचेर काम गर्नुपर्छ । १७ औं संस्करण सकिएलगत्तै भोलिबाटै १८ औं संस्करणलाई अझै भव्य र नयाँ बनाउन हामी योजना सुरु गर्नेछौं ।’

अध्यक्ष चौधरीले अब नेपाल आयातमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा पनि विशेष जोड दिए । 

nullकरण चाैधरी 

‘अब हाम्रो देशमा उड्ने कार आयात गर्ने होइन, उड्ने ट्याक्सी उत्पादन गर्न सक्नुपर्छ । जुन दिन हामी उत्पादनलाई प्राथमिकता दिन्छौं । त्यो दिनबाटै समृद्ध नेपालको निर्माण सुरु हुन्छ,’उनले भने ।

उनले यसका लागि नीतिगत तहबाट सरकारले विशेष पहल गर्नुपर्ने सरकारलाई झकझकाए ।

शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने समापन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरे । 

यो अटो शोमा सवारीप्रेमीहरू मात्र नभई देशका नीति निर्माण र कार्यान्वयन तहका व्यक्तित्वहरूको पनि उपस्थिति थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलदेखि बागमती प्रदेशका मन्त्री जयराम थापासम्म अनि प्रतिनिधिसभा सदस्यहरू योगेश भट्टराई, हरि ढकाल र शिशिर खनालसम्मको उपस्थिति थियो ।  यसैगरी पूर्वअर्थमन्त्री युवराज खतिवडाकाे पनि उपस्थिति रहेकाे थियो ।

त्यस्तै, प्रशासन, सुरक्षा र आर्थिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति पनि उत्तिकै उल्लेखनीय थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङदेखि राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसम्मले प्रदर्शनी अवलोकन गरे। 

null

नाडा अटो शोले यसपटक अन्तर्राष्ट्रिय ध्यान पनि खिच्न सफल भयो । भारतीय अटोमोबाइल जगतका दुई प्रतिष्ठित संस्थाहरू सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चर्स (सियाम) र अटोमोटिभ कम्पोनेण्ट म्यानुफ्याक्चर्स एशोसिएशन (एक्मा) का उच्चस्तरीय प्रतिनिधि मण्डलले शोको अवलोकन गरे । 

यसले नाडा अटो शोलाई क्षेत्रीय स्तरमा समेत एक महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित गर्न मद्दत पुगेको छ ।

Share News