११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा

काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा बेहोरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।

गत महिना साउनमा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख रुपैयाँ बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख रुपैयाँ घाटा व्यहारेको छ । यस्तै, चीनसँग २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको आयात र पाँच करोड ४८ लाख रुपैयाँको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । 

युएईसँगको व्यापारमा समेत नेपालले ठूलो नोक्सानी बेहोर्दै आएको छ । युएइबाट नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा २० करोड २६ लाख बराबरको वस्तु निर्यात गरेको देखिन्छ । जसबाट नेपालले १८ अर्ब ३८ करोड व्यापार नोक्सानी बेहोर्नुपरेको छ ।

थाइल्याण्डसँग पनि नेपालको वैदेशिक व्यापार घाटामा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार थाइल्याण्डबाट नेपालले ११ अर्ब २२ करोडको वस्तु आयात गरेकोमा १५ करोडको मात्रै वस्तु निर्यात गरेको छ । थाइल्याण्ड सँग नेपालको वैदेशिक व्यापार ११ अर्ब २० करोड भन्दा बढि देखिएको छ ।

अजेन्टिना सँग ९ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बराबरको आयात र २४ लाख रुपैयाँको मात्रै निर्यात गर्दा नेपालले ९ अर्ब १२ करोड बराबरकै व्यापार घाटा बेहोर्नुपरेको छ । त्यस्तै अष्ट्रेलिया सँग नेपालले ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाख बराबरको निर्यात गर्दा कुल व्यापार नोक्सानी ५० करोड भन्दा बढिको बेहोर्नुपरेको छ । यस्तै, बंगलादेश सँग ५३ करोड ५८ लाख रुपैयाँ बराबरको आयात र सात करोड ५१ लाख रुपैयाँको निर्यात गर्दा ४६ करोड ७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ । नेपालको वैदेशिक व्यापार बहराइनसँग समेत हुने गरेको छ ।

बहराइनबाट नेपालले १७ करोड ७७ लाख बराबरको वस्तु आयात गरेको छ भने निर्यात शून्य रहँदा उक्त देशसँग व्यापार घाटामा देखिएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत महिना साउनमा एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाउँछ।

यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड रुपैयाँ बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका,रूस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।   

Share News