काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामै विद्युतीय सवारी साधनको आयात उत्साहजनक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै नेपालमा ५२ करोड ४० लाखरुपैयाँभन्दा बढीका विद्युतीय कार, जीप, भ्यान र माइक्रो बस भित्रिएका छन् ।
विभागका अनुसार साउनमा कुल १९७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । यी सवारीको आयातबाट सरकारले ३० करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसले विद्युतीय सवारी साधन सरकारी राजस्वको पनि महत्त्वपूर्ण स्रोत बन्दै गएको देखाउँछ ।
कुन क्षमताका कति भित्रिए गाडी ?
साउन महिनामा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् । विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २१ वटा कार, जीप र भ्यान छन् भने ५१ देखि १०० किलोवाटसम्मका १०७ वटा कार, जीप र भ्यान रहेका विभागले जनाएको छ । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३१ वटा तथा ११ देखि १४ सिटे माइक्रोबस ३८ वटा आयात भएका छन् ।
पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीमा कर छुट तथा विभिन्न सहुलियत दिँदै आएको छ । यसैको प्रभावस्वरूप नेपाली बजारमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण तीव्र गतिमा बढिरहेको छ । आर्थिक वर्षको सुरुवातमा देखिएको यो तथ्यांकले आगामी दिनमा विद्युतीय सवारीको आयात थप बढ्ने संकेत गरेको छ ।