नाडा अटो शोमा बीवाईडीको स्टलमा झुम्मिए अवलोकनकर्ता, तेस्रो दिनमै ३०० भन्दा बढी बुकिङ

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शोमा विश्वप्रसिद्ध विद्युतीय सवारी निर्माता बीवाइडीको नयाँ कम्प्याक्ट एसयूभी ‘एट्टो २’को स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । नाडा अटो शोमै सार्वजनिक गरेको उक्त गाडी तेस्रो दिनसम्ममा ३०० भन्दा बढी युनिट बुकिङ भइसकेको सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार एट्टो २ लाई कम्पनीले इन्ट्रोडक्टरी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा प्रस्तुत गरेको हो । नेपाली सडकका लागि विशेष उपयुक्त मानिएको यो गाडीमा २०० एमएमको ग्राउन्ड क्लेरेन्स रहेको छ।

एट्टो ३ कै जस्तै 'ड्रागन फेस' डिजाइनमा आधारित एट्टो २ को बाहिरी लुक्स आकर्षक र आफ्नो सेग्मेन्टमा अलि ठूलो देखिन्छ। गाडीमा एडास लेभल २, अटोमेटिक ब्रेकिङ सिस्टम र लेन असिस्ट जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू समावेश छन् ।  

५१.१३ किलोवाट आवरको ब्याट्री र १०० किलोवाटको मोटर जडित यो गाडीले एक पटकको फुल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

नाडा अटो शोलाई लक्षित गर्दै बीवाइडीले नगद छुटभन्दा पनि वारेन्टीमा विशेष जोड दिएको छ । कम्पनीले गाडीमा १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।  

सेल्स म्यानेजर श्रेष्ठले भनिन्, ‘यो वारेन्टीले ग्राहकलाई दीर्घकालीन फाइदा दिन्छ र भोलि गाडी बिक्री गर्दा पनि यसले राम्रो रिसेल भ्यालु सुनिश्चित गर्छ।’

यसका साथै ग्राहकले इन्सोरेन्स, रोड ट्याक्स, एसेसरिज, ट्राभल चार्जर र वाल बक्स चार्जर जस्ता सुविधा पनि पाउनेछन् । 

शोको चौथो दिनसम्म आइपुग्दा बीवाइडीको स्टलमा ग्राहकको बाक्लो भीड देखिएको छ । धेरै ग्राहकहरू विशेष गरी नयाँ एट्टो २ हेर्नकै लागि आएको श्रेष्ठ बताउँछिन् ।

‘ग्राहकहरूले गाडीको मूल्य र फिचरलाई निकै मन पराउनुभएको छ, जसको प्रमाण ३०० भन्दा बढीको बुकिङ हो,’ उनले भनिन्।

एट्टो २ बाहेक, प्रिमियम सेग्मेन्टमा बीवाइडी सीलले पनि ग्राहकको ध्यान खिचेको छ । 

Share News