एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङसँग बैंकिङ क्षेत्रमा काम गरेको ४० वर्षको अनुभव छ । सन् १९८६ मा स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका खालिङ लक्ष्मी सनराइज बैंक (साबिक लक्ष्मी बैंक)मा सीईओ हुँदै विसं २०७८ मा एभरेष्ट बैंकको सीईओ बने र नयाँ इतिहास रचे । पन्जाब नेशनल बैंकको साझेदारीमा सन् १९९४ मा खुलेको एभरेष्ट बैंक २७ वर्षसम्म विदेशी सीईओको नेतृत्वमा चल्यो । सुदेश खालिङ नै एभरेष्ट बैंकको पहिलो नेपाली सीईओ हुन् । जब एभरेष्ट बैंकमा नेपाली नागरिक सीईओ नियुक्त भयो तब धेरैको ध्यान गयो, अब कस्तो हुन्छ यो बैंक भन्ने कौतुहलतासहित । खालिङको चार वर्षे कार्यकाल आगामी असोज ७ गते सकिँदैछ । उनको चार वर्षे कार्यकाल उत्कृष्ट रहेको बैंकका सूचकाङ्कहरूले देखाउँछ ।
२० वाणिज्य बैंकमध्ये सेयर मूल्य सबैभन्दा बढी एभरेष्ट बैंकको छ । लाभांश क्षमता सबैभन्दा बढी एभरेष्ट बैंकको छ । अर्थतन्त्रमा चरम संकट हुँदा पनि बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । बैंकको व्यवसाय वृद्धि उच्च दरमा भएको छ । चार वर्ष अगाडि उनी सीईओ बन्दा बैंकको निक्षेप १ खर्ब ६० अर्ब रुपैयाँ थियो भने हाल २ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । साथै बैंकको कर्जा लगानी १ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । चार वर्ष अगाडि १ अर्ब ८२ करोड रुपैयाँ नाफा गर्ने बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब रुपैयाँ पुगेको छ ।
नेतृत्व र नतिजा दुबैमा सफलता चुमेका खालिङ एभरेष्ट बैंकको दोस्रो कार्यकालका लागि पुन:नियुक्ति हुने निश्चित छ । त्यसको संकेत पाएर नै हुनुपर्छ खालिङ बैंकको वृद्धि विकासमा नियमित खटिरहेका छन् । ४ दशक बैंकिङ अनुभव भएका र राम्रो नतिजा देखाइरहेका बैंकर खालिङसँग एभरेष्टको सफलतासँगै बैंकिङ क्षेत्रका विद्यमान अवसर र चुनौतीबारे विकासन्युजका लागि रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको विकास बहस ।
३०/४० वर्ष बैंकिङ क्षेत्रमा काम गरेका सीईओहरूले दुई वर्ष अगाडिसम्म भन्ने गर्दथे कि ‘यस्तो सकस विगतमा कहिल्यै भोग्नु परेको थिएन ।’ गत आर्थिक वर्षको तथ्याङ्कमा केही सुधार देखिन्छ । यतिबेला बैंकिङ क्षेत्र सामान्य अवस्थामा फर्केको हो ?
व्यवसायमा एउटा चक्र हुन्छ । नेपालमा विभिन्न परिस्थितिलाई नियालेर हेर्ने हो भने यो चक्र तलमाथि भइरहेको हुन्छ । यो चक्रमा कुनै समय तरलताको दबाब हुने र कुनै समय प्रशस्त हुने गरेको देखिन्छ । जब बैंकको पुँजी ८ अर्ब रुपैयाँ पुर्याइयो, त्यसपछि बैंकहरूलाई व्यापार बढाउनु पर्ने दबाब सिर्जना भयो । लगानीकर्तालाई उचित प्रतिफल दिन पनि व्यापार बढाउनुपर्ने आवश्यकता भयो । तर, व्यापार बढाउने क्रममा बैंकरहरूले गल्ती गरे । आफ्नो स्ट्याण्डर्ड क्रेडिट पोलिसीमा कम्प्रमाइज गरे । त्यसको नतिजा बैंकको वित्तीय विवरणमा देखिएको पनि छ । त्यही क्रममा एभरग्रिनिङको समस्या भयो । बैंकहरुको ओभरड्राफ्ट कर्जा वा ब्याज मात्रै तिरे पुग्ने छोटो अवधिका लागि दिइने कर्जाको जोखिममा बैंकहरूले ध्यान दिएनन् । जसले गर्दा ऋणी र बैंक दुवै समस्यामा पर्न थाले ।
त्यही अवस्थामा नेपाल राष्ट्र बैंकले चालु पुँजी मार्गदर्शन ल्यायो । जसको व्यवसायीहरूबाट व्यापक विरोध भयो । तर, अहिले आएर सुधारको नतिजा क्रमशः देखिन थालेको छ । राष्ट्र बैंकले पनि केही सुविधा तथा सहजीकरण गरिरहेको छ । ब्याजका कारण उद्योगहरू डुब्न लागे, एकल अंकको ब्याजदर हुनुपर्याे भनेर दुई वर्ष अगाडि व्यवसायीहरू सडकमा आए । अहिले ब्याज ७ प्रतिशतमा झर्दा पनि कर्जाको मागमा उल्लेख्य वृद्धि भएको छैन ।

सुदेश खालिङ
बैंकिङ क्षेत्रका अधिकांश सूचकहरू सहज अवस्थामा देखिन्छन् । बैंकहरूमध्येमा पनि एभरेष्ट बैंकको ब्यालेन्ससिट निकै कम्फर्टेबल अवस्थामा छ । त्यसले पनि बैंकिङ क्षेत्र अहिले सहज अवस्थामा फर्केको संकेत गर्दछ, होइन ?
एकाध बैंकको ब्यालेन्ससिट हेरेर बैंकिङ उद्योगमा के भइरहेको छ भनेर मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन । समग्र बैंकिङको तुलनामा एभरेष्ट बैंकको स्थिति सहज भएपनि वातावरण त त्यही नै हो । हामीले काम गर्ने बजार, ग्राहक वर्ग त्यही नै हो । तर, अन्य बैंकको ग्राहकलाई समस्या आउने अनि एभरेष्ट बैंकको ग्राहकलाई समस्या नभएको भन्ने हुँदैन । हामी परिस्थिति वा समस्यालाई समयमा पहिचान गरेर उपचार गर्छाैं । हामी अलि सेलेक्टिभ भएर काम गर्छाैं । कतिपय ग्राहकलाई काउन्सिलिङ गर्नुपर्ने हुन्छ, गाइड गर्नुपर्ने हुन सक्छ, कतिपय अवस्थामा कर्जा रोकेर, कतिपय अवस्थामा कर्जा बढाएर जानुपर्ने हुनसक्छ । हामी समस्यालाई समयमै पहिचान गरेर निर्क्याैल गर्न बढी जोड दिन्छौं ।
ग्राहकले भनेको कुरा बैंकले सुन्ने र बैंकले भनेको कुरा ग्राहकले सुन्ने अवस्था रह्यो भने स्थिति सहजै हुन्छ । एभरेष्ट बैंकको कल्चर (संस्कार) तथा प्राक्टिस (अभ्यास) पनि यही हो । कुनै पनि समय वा परिस्थिति एकै प्रकारको रहँदैन ।
बैंकको वित्तीय विवरण हेर्दा एभरेष्ट बैंकको अभ्यास र संस्कार बैंकिङ क्षेत्रका उपयुक्त छ भन्ने देखिन्छ । त्यो अभ्यास वा संस्कार के हो ?
बैंकले गर्ने अभ्यास पेपरमा लेखेका आधारमा मात्र हुँदैन । यो त हामीले विभिन्न किसिमका ठक्कर खाँदै वर्षाैंदेखि गरेर आएको अभ्यासबाट हुने हो । के गर्दा ठिक हुन्छ, के नगर्दा बिग्रिँदैन भन्ने हो । बैंकले कहाँ गल्ती गरेको छ ? त्यो गल्तीलाई हामीले समयमा पहिचान गर्ने हो । त्यो गल्ती दोहोर्याई रहने हो भने समस्या त्यहीँबाट सुरु हुन्छ । त्यसैले भएका गल्तीलाई पहिचान गरेर सुधार गरेर जाने हो । हामीले पनि यही अभ्यास नै गरिरहेका छौं । कर्जा दिने प्रक्रियामै त्यसको उपयोगिता हेर्ने, पुनरावलोकन गर्ने, समयमा सजग गराउने हो । भ्यालू चेनमा कहीँ न कहीँ ब्रेक हुँदा समस्या आउँछ । त्यो समस्या हामीलाई पनि नआएको होइन । हाम्रो बुकमा पनि गैर-बैंकिङ सम्पत्ति व्यवस्थापन गर्नुपर्ने छ । तर, अरू बैंकको तुलनामा कम छ ।
एभरेष्ट बैंकमा तपाईं पहिलो नेपाली सीईओ बन्नुभयो । तपाईंले नेतृत्व गरेपछि बैंकको पर्फमेन्स निकै राम्रो देखियो । अरू बैंकर्सले पनि एभरेष्टले धेरै राम्रो गर्यो भनिरहेका छन् । तपाईंसँग के जादु थियो र अरूको भन्दा उत्कृष्ट नतिजा दिनुभयो ?
जादुको छडी केही पनि थिएन । यो कुनै व्यक्ति विशेषले गर्दा एभरेष्ट बैंकले राम्रो गर्यो भन्ने पनि होइन । एभरेष्ट बैंक आफैंमा प्रुडेन्ट बैंकिङमा चलिरहेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकदेखि लक्ष्मी सनराइज बैंकमा प्रुडेन्ट बैकिङ गर्दै आएको मेरो अनुभव र एभरेष्ट आफैंमा प्रुडेन्ट बैंक भएकोले मलाई काम गर्न सहज भयो । बैंकको जोखिम व्यवस्थापन र सञ्चालनमा मेरो दख्खलता छ । व्यापार व्यवसाय टिमले गर्ने हो । त्यो टिम र जनशक्ति बैंकका छँदै थियो ।
यो बैंकको सबैभन्दा राम्रो पक्ष भनेको कर्मचारीहरू लामो समयसम्म टिकेका छन् । बैंकको सम्पत्ति भनेकै जनशक्ति हो । यस बैंकमा आबद्ध भएपछि अधिकांश कर्मचारीहरू यहीबाट रिटायर्ड भएर बाहिरिन्छन् । थोरै मात्रै कर्मचारी होलान् एभरेष्ट बैंक छाडेर अरू बैंकमा गएका । बैंकमा धेरै अनुभव लिएर काम गरिरहेका कर्मचारीको अब्बल टिम छ ।
पन्जाब नेशनल बैंकको कल्चर पनि एभरेष्ट बैंकमा छ । राम्रो टिम र राम्रो अभ्यासलाई मैले गाइड गर्ने भूमिका निर्वाह मात्रै गरेको हुँ । विगतमा पन्जाब नेशनल बैंकबाट आउने जनशक्ति वा व्यवस्थापन टिमलाई भन्दा मलाई के फाइदा थियो भने मैले नेपाली बजार बुझेको थिएँ, बजारका व्यापारी चिनेको थिएँ, कुन क्षेत्रमा सम्भावना छ ? के कस्ता व्यावसायिक समूह छन् ? उहाँहरूको कारोबार के हो ? जति मलाई ज्ञान थियो त्यति धेरै पन्जाब नेशनल बैंकबाट आउने व्यवस्थापकलाई हुँदैनथ्यो । त्यस हिसाबमा पनि मलाई व्यापार बढाउन सहज भयो ।

तपाईंले देख्नु भएका बैंकिङ क्षेत्रका चुनौतीहरू के-के हुन् ?
कुनै पनि व्यवसाय वा क्षेत्रमा चुनौती रहन्छन् नै । साथै त्यहाँ अवसर पनि हुन्छन् । चुनौतीलाई हामीले फेस गर्ने हो । त्योभन्दा पनि बढी हामीले कहाँ अवसर छ भनेर हेर्ने हो । २० वटा वाणिज्य बैंकलाई नै व्यापार व्यवसाय विस्तार गर्नुपर्नेछ । सबै बैंकको पुँजीको आकार ठूलो छ । सबै बैंकहरूलाई रिटर्न अन इक्विटी तथा रिटर्न अन इन्भेष्टमेन्टको दबाब छ । धेरै बैंकले उचित प्रतिफल दिन सकिरहेका छैनन् । बिग्रेका कर्जाहरूलाई लयमा फर्काउनु पर्ने दबाब छ ।
गत वर्ष कर्जा वृद्धि दर साढे १२ प्रतिशत हुने प्रक्षेपण गरिरहँदा ८ प्रतिशतको हाराहारीमा मात्रै कर्जा वृद्धि भएको छ । जुन अघिल्लो वर्षको तुलनामा केही राम्रो हो । सुधारका केही लक्षण देखिएका छन् । तैपनि हामीले चाहेको जस्तो भएको छैन । यसमा बाह्य प्रभाव पनि परेको हुन सक्छ । रसिया–युक्रेन युद्धदेखि लिएर गाजा युद्धका कारण केही अवरोध पनि भइरहेको छ । साना मझौला (एसएमई) कर्जामा बैंकलाई समस्या छ । धेरै युवा काम तथा पढाइको शिलशिलामा विदेशिने क्रम बढ्दो छ । जसले गर्दा माग घटिरहेको देखिन्छ । समग्रमा बजारमा सुस्तता छ ।
केही आशा पर्यटन क्षेत्रबाट पलाएको छ । ठाउँठाउँमा होटलहरू बन्ने क्रममा जारी छ । तर, त्यहाँसम्म पर्यटकहरू पुर्याउनका लागि सडक सञ्जालको समस्या छ । साथै जलविद्युत क्षेत्रमा सम्भावना देखिएता पनि बजार सुनिश्चितता कसरी कायम हुन्छ भन्नेमा हामीलाई सधैँभरि चिन्ता रहन्छ । पछिल्लो समय प्रत्येक साता कुनै न कुनै जलविद्युतमा बैंकहरुले प्रोजेक्ट फाइनान्सिङका लागि सम्झौता गरिरहेका छन् । विगतमा २/४ मेगावाटका हाइड्रो बनाउँदा पनि १० वटा बैंकको लगानी चाहिन्थ्यो । तर, आजका दिनमा ३/४ सय मेगावाटका हाइड्रोपावरलाई बैंकहरुले सजिलै लगानी गर्न सक्ने अवस्था छ । ठूला परियोजना बन्ने क्रममा खरिदकर्ताको हिसाबले नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो क्षमता बढाउँदै जानुपर्ने देखिन्छ ।
बैंकहरू ठूला भएका छन् । लगानी गर्ने सामर्थ्य पनि बढेको छ । त्यो अनुसार ऋणीको सामर्थ्य बढेको छ कि छैन ?
ठूलठूला बिजनेस ग्रुपलाई हेर्ने हो भने ठूलो विकास भएको देख्छौँ । जस्तो विगतमा १० मेगावाटको हाइड्रो बनाउनेले आज १/२ सय मेगावाटको हाइड्रो बनाइरहेका छन् । त्यो भनेको ऋणीको क्षमता पनि बढेको हो । केही अनुभवले पनि दिएको होला । बैंक र ऋणी दुइटै पक्षको विकास भइरहेको छ । किनभने एउटा पक्ष मात्रै राम्रो हुँदा भोलिका दिनमा समस्या आउन सक्छ ।
चन्द्रप्रसाद ढकाल, मीनबहादुर गुरुङ, वीरेन्द्र बहादुर बस्नेत, अञ्जन श्रेष्ठलगायत केही सीमित व्यवसायीको क्षमतामा धेरै विकास भएको सबैले देखेका छन् । एक/दुई दर्जन ऋणीको क्षमता विकास हुँदैमा सबै बैंकलाई व्यवसाय पुग्ने भन्ने पनि हुँदैन । समग्र ऋणीहरूको क्षमता वृद्धि कस्तो देखिन्छ ?
ऋणीहरूको क्षमता बढ्ने क्रममा छ । अहिले पनि झट्ट हेर्दा ठूला व्यवसायीको २/३ दर्जन भित्र नै छ । ठूला ऋणी पनि तिनै हुन् । बैंकहरूलाई विश्वास भएपछि मात्रै ऋण विस्तार हुने हो । बैंकले सहजै विश्वास गर्ने लेबलमा ठूला व्यवसायीको संख्या वृद्धि उच्चदरमा भने छैन ।
तपाईंको ४० वर्षको बैंकिङ अनुभवमा विशाल ग्रुप, आइएमई ग्रुप, भाटभटेनी ग्रुप, ज्योति ग्रुप लगायतका सीमित व्यावसायिक घराना मात्रै टिकिरहेका छन् कि नयाँ युवा उद्यमी वा लगानीकर्ताहरू पनि आइरहेका छन् ? नयाँ पुस्ताका उद्यमीहरूको उदय कस्तो छ ?
यो बढ्ने क्रममा छ । नयाँ उद्यमी आउने क्रम जारी छ । तर, त्यो संख्या कम छ । नयाँ युवा पुस्ता पनि त्यही ग्रुपबाट नै आइरहेका छन् ।
थोरै मान्छे असाध्यै धनी हुने, आम मानिसको जीवन जस्ताको तस्तै हुने सिनारियो तपाईंको नजरमा कत्तिको छ ?
मान्छेको सम्पत्तिलाई कसरी हेर्ने ? जस्तो दुर्गा प्रसाईँले म यति अर्बको मालिक भनेर घोषणा गर्छन् । तर, उनको दायित्व घटाएर हेर्दा सम्पत्ति कति हो ? अर्बपति चौधरीको सम्पत्ति कति छ र उनले तिर्नुपर्ने दायित्व कति छ भनेर हेर्नुपर्ने हुन्छ । हामीले धनाढ्य कसलाई भन्ने ? अम्बानीको मुम्बईमा ठूलो सम्पत्ति छ । उनको सम्पत्तिलाई एउटा मूल्याङ्कन गर्छन् । हामीले एकपक्षीय रूपमा हेरेर फलानाको सम्पत्ति यति रहेछ भन्छौँ । तर, उसको दायित्व कति हो भनेर घटाएर हेरेको हुँदैन । सम्पत्ति मात्रै भएको र दायित्व नभएको मान्छे बिरलै भेटिन्छन् । त्यस्ता व्यक्ति पनि छन् । बैंकमा निक्षेप राखेर कर्जा नलिने ग्राहक पनि छन् । तर, ३ करोड नेपालीमा सबैसँग समान रूपमा पैसा बाँडिएको छैन । त्यसकारण ग्याप भने कायम रहन्छ ।
बैंकहरूले धनाढ्यलाई मात्रै कर्जा दिए । तलबाट माथि उठ्न खोजेको वर्गलाई बैंकले कर्जा नदिएको आक्षेप लागिरहेको हुन्छ नि ?
बैंकमा कर्जा लिनका लागि त्यति सहज छैन । बैंकबाट सहजै कर्जा धनी वर्गले नै पाउने हो । त्यसो भन्दै गर्दा नेपाल राष्ट्र बैंकको निर्देशित कर्जा पनि छ । तर, हामीले अनुभव गरिरहँदा साना ऋणीलाई धेरै गाह्रो छ । कतिपयले लहलहैमा कर्जा लिएका हुन्छन् । कतिको बैंकबाट पैसा मात्रै लिने उद्देश्य हुन्छ, जसले कुनै व्यापार गरेको हुँदैन । बैंकबाट कर्जा लिएर उपभोगमा खर्च गर्ने मानिसहरू पनि धेरै छन् । लघुवित्त र सहकारीमा ऋणीहरू समस्यामा पर्नुको मुल कारण पनि यही हो । बैंकले ऋणीको कर्जा भुक्तानी गर्न सक्ने क्षमता हेर्छ । कर्जा लिएपछि केमा प्रयोग हुन्छ ? भनेर बैंकले हेरिरहेको हुन्छ । जस्तो गाडी कर्जा लिएपछि उसको आम्दानीको स्रोतले चुक्ता गर्न सक्छ/सक्दैन ? त्यसबाहेक व्यापारबाट कर्जा तिर्न सक्छ/सक्दैन ? पैसा तिर्न नसकेको अवस्थामा धितो के छ भनेर हेरिन्छ । तर, लक्षित वर्ग क्षेत्र कर्जा दिँदा गाह्रो छ । कर्जा विस्तार गर्न त्यति सहज छैन । यो क्षेत्रमा वाणिज्य बैंकहरुले लगानी गर्न सक्दैनन् ।

२०७० को दशकमा बैंकहरूले साना तथा मझाैला कर्जामा जोड दिएका थिए । अहिले त्यही क्षेत्रबाट कर्जा उठेन भनेर बैंकर्सहरुको दुःखेसो पनि सुनिन्छ । निर्देशित क्षेत्रमा कर्जा लगानी गर्नै पर्ने बाध्यताले बैंकहरुलाई धेरै नै कठिन भइरहेको हो ?
बैंकहरू आफैले पनि स्वयं कर्जा विविधीकरण गरिरहेका छन् । रेगुलेटरी फ्रेमवर्कमा २ करोड रुपैयाँसम्मको कर्जालाई एसएमई भनिन्छ । तर, कुनै बैंकले ५ करोड रुपैयाँ, कुनै बैंकले १० करोड रुपैयाँसम्मलाई एसएमइ कर्जामा वर्गीकरण गरिरहेका छन् । एउटा स्ट्याण्डर्डमा एसएमई लागू भएको छैन । त्यो भन्दा तल जान वाणिज्य बैंकहरू नसक्ने भएपछि राष्ट्र बैंकले लघुवित्त संस्थाहरू ल्याएको हो । लघुवित्तले दिने कर्जाको स्रोत बैंक हुन् । त्यसकारण साना कर्जामा वाणिज्य बैंकहरू गएका छैनन् भन्न मिल्दैन । तर, त्यो क्षेत्रमा पनि समस्या छ । किनभने लघुवित्तको खराब कर्जा १० प्रतिशत नाघेको छ । त्यहाँबाट पनि प्रस्ट हुन्छ कि त्यो क्षेत्र सहज छैन । वित्तीय साक्षरता, बजार अभाव, मनिटरिङ लगायतमा समस्या छन् । यस्ता कर्जाको लागत पनि ठूलो छ ।
राष्ट्र बैंकको निर्देशित कर्जा परिचालन र प्रभाव कस्तो छ ? कार्यान्वयन गर्न कति सहज वा बोझिलो छ ? नीतिगत व्यवस्थामा पुनरावलोकन गर्ने समय भयो कि भएन ?
सहज छैन भन्ने विषय नेपाल बैंकर्स संघमार्फत बैंकरहरुले आवाज उठाइरहेका छन् । बैंकहरू जहाँ समस्यामा छन् उनीहरू आफै स्वयंले पनि राष्ट्र बैंकमा माग गरिरहेका हुन्छन् । यसलाई पुनरावलोकन गर्नुपर्छ भनिरहेका पनि छन् । विशिष्टिकृत बैंकिङको अवधारणा पनि राष्ट्र बैंकले ल्याइरहेको छ । त्यसबाट पनि यसको सम्बोधन गर्ने हो कि । जस्तो कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या छ । कृषि विकास बैंक स्थापना हुँदाको अवधारणा र आजको कार्य फरक छ । जुन बैंकको जुन क्षेत्रमा विज्ञता छ त्यसमा विशिष्टिकृत गर्न सकिन्छ । जोसँग जेमा बढी क्षमता, सामर्थ्य छ त्यसमा बढी जोड दिन सकिन्छ ।
निर्देशित कर्जाको एउटा बोझ छँदैछ । राष्ट्र बैंकले पोलिसी गाइडलाइनसँगै अप्रेसनल गाइडलाइन बनाउने र लागू गर्ने काम गरिरहेको छ । ती गाइडलाइनहरू भित्र बसेर काम गर्दा बैंकको सीईओको हैसियतमा स्वतन्त्र भएर काम नपाएको अनुभूति हुन्छ कि हुँदैन ?
रेगुलेटेड वातावरणमा काम गर्ने बानी परिसक्यो । राष्ट्र बैंकले भनेपछि पालना गर्नुपर्छ भन्ने लाग्छ । राष्ट्र बैंकको निर्देशनले कतातिर जान्छ, यसले मलाई स्वतन्त्रता दियो कि खोस्यो भन्दा पनि राष्ट्र बैंकको निर्देशन कसरी पालना गर्ने भन्नेतर्फ बैंकर्सहरूको ध्यान जान्छ । त्यसकारण यसलाई हामीले समस्या भन्दा पनि प्राक्टिकल एस्पेक्ट (अवधारणा) कस्तो हो, कसरी हुन्छ, कसरी समाधान हुन्छ भन्ने हो । नसकेको ठाउँमा राष्ट्र बैंकसँग सल्लाह गरेर परिवर्तन पनि गराएको अवस्था पनि छ । त्यसैले यसमा ठूलै समस्या छ भनेर भन्न मिल्दैन । नियामकले नियमन गर्छ । तर, कुनै एउटा बैंकले केही कम्प्लायन्स पालना नगरेको खण्डमा सम्बन्धित बैंकलाई मात्रै एक्सन लियो भने सहज हुने थियो । तर, कुनै बैंकले गलत गरेका कारण राष्ट्र बैंकले अर्काे निर्देशन जारी गरेर सबै बैंकहरूलाई समस्यामा पार्नु भएन । यो विषय बारम्बार हामीले राष्ट्र बैंकसँग माग गर्दै आएका छौं ।
एआई प्रयोगले बैंकको लागत कटौतीमा कतिको सहयोग गरिरहेको छ । एआईको प्रयोग कत्तिको भइरहेको छ ?
बैंकमा एआई पूर्ण रूपमा डिप्लोइड भएको छैन । एआई प्रयोग हुने अवस्थामा छ । एआई प्रयोगमा बैंकहरू सुरुवाती चरणमा छन् । एआई नै पूर्ण रूपमा प्रयोग गर्ने भन्ने छैन । तर, अहिले धेरै बैंकहरुको जोड भनेको डिजिटाइजेशनमा छ । एआईसँग विशेष ज्ञान भएको कर्मचारी बैंकमा हुँदैनन् । त्यसको लागि थर्डपार्टी जनशक्ति प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको प्रयोग हामीले गरिरहेका छौं । प्रयोग हुने क्रममा छ ।

एभरेष्ट बैंकका स्ट्रेन्थहरू के-के हुन् ?
बैंकका स्ट्रेन्थहरू सबै सार्वजनिक छन् । तर, हामीसँग भएको मुख्य स्ट्रेन्थ भनेको जनशक्ति हो । हामीले कर्मचारी भर्ना, तालिम, परिचालन सहि तरिकाले गर्छौ । कर्मचारीलाई लामो समय एउटै ठाउँमा राख्दैनौं । दुई/तीन वर्षमा फरक/फरक डिपार्टमेन्ट, फरक/फरक ठाउँमा पठाउँछौं । कसको स्ट्रेन्थ केमा छ भन्ने विषय पहिचान गरेर खटाउँछौं । जसको जे स्ट्रेन्थ छ, त्यसैमा खटाउँदा त्यसको रिजल्ट पनि राम्रो हुन्छ ।
ठूलो पुँजीभन्दा सानो पुँजी भएका बैंकले तुलनात्मक रुपमा राम्रो पर्फमेन्स गरेको देखिन्छ । मर्ज नभएको प्रभाव हो ? धेरै हिसाबमा एभरेष्ट बैंक स्मूथले जानुको कारण के हो ?
जुन समयमा बैंकहरू मर्जरमा सामेल भए त्योबेला ड्यू डेलिजेन्स अडिट (डीडीए) स्पष्ट रूपमा भएन । डीडीए भनेपछि स्वाप रेसियो मात्रै हेरियो । डीडीएले के देखायो भन्दा पनि स्वाप रेसियोको मात्रै कुरा हुन्थ्यो । १ बराबर १ गर्ने कि १ बराबर ०.९० गर्ने भन्ने सुनिन्थ्यो । त्यतिबेला उचित किसिमको डीडीए भएको थियो भने अहिलेको जस्तो खराब अवस्था आउँदैनथ्यो । डीडीएले प्राइसिङ स्पष्ट बनाएको भए अहिले त्यो बैंक धेरै स्वस्थ हुन्थ्यो । स्वाप रेसियो मिलेको भए समस्या आउँदैनथ्यो । तर, अहिले आएर त्यो बैंकका कारण हाम्रो एनपीए बढ्यो भनिरहेका छन् । त्यसको डीडीए प्रपल्ली नभएर समस्या आएको हो ।
तर, ठूला बैंक नै राम्रा हुन् । अर्गानिक ग्रोथ गरेर त्यो लेभलमा पुग्न मलाई अर्काे १० वर्ष लाग्छ । म १० वर्षमा उनीहरुको लेभलमा पुग्दा ठूला बैंकहरू कहाँ पुगिसकेका हुन्छन् । ग्रोथ भनेको राम्रो हो । संसारभर मर्जर एक्विजिशन हुनु सामान्य विषय हो । मर्जरले ठूलो हुन्छ भने त्यति ठूलो आकार बनाउन मैले धेरै परिश्रम नै गर्नु परेन ।
यस वर्ष एभरेष्ट बैंकले कति लाभांश दिन्छ ?
लाभांशको निर्णय सञ्चालक समितिले गर्ने हो । मैले पर्फमेन्स गरेर साढे ३८ प्रतिशत दिइसकेँ । तर, साढे ३८ प्रतिशत नै लाभांश दिएर पनि हुँदैन । मलाई व्यापार गर्न यति चाहिन्छ भनेर सञ्चालक समितिलाई जानकारी गराउने हो । त्यसपछि उहाँहरूले आफ्नो हिसाबले निर्णय गर्नु हुन्छ ।