थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाकसिनविरुद्ध राजद्रोह र शाही अपमानको मुद्दा खारेज

काठमाडौं । थाइल्याण्डको एक अदालतले शुक्रबार पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रामाथि लागेको शाही अपमान र राजद्रोहसम्बन्धी मुद्दा खारेज गरेको छ ।

यो आरोप उनीमाथि २०१५ मा निर्वासनमा रहँदै दक्षिण कोरियाली अखबारलाई दिएको एक अन्तर्वार्तासँग सम्बन्धित थियो । दोषी ठहर भएको खण्डमा उनलाई १५ वर्षसम्म कैद सजाय हुने सम्भावना थियो ।

उक्त अन्तर्वार्तामा उनले थाइल्याण्डको सर्वोच्च शाही सल्लाहकार संस्था ‘प्रिभी काउन्सिल’ले सन् २०१४ को सैन्य ‘कु’ गर्न सहयोग गरेको आरोप लगाएका थिए । सोही ‘कु’ मा उनकी बहिनी यिङलक शिनावात्राको सरकार अपदस्थ भएको थियो ।

थाइल्याण्डको ‘लेसे-मैजेस्टे’ नामक कानुनले राजशाहीको आलोचना वा अपमानलाई अपराध मान्छ । तर आलोचकहरू भन्छन्- यस कानुनको प्रयोग प्रायः कार्यकर्ता र राजनीतिक प्रतिद्वन्द्वीहरूलाई निशाना बनाउन गरिन्छ ।

यो फैसला त्यस्तो समयमा आएको हो जब थाकसिनकी छोरी तथा निलम्बित प्रधानमन्त्री प्यातोङटार्न शिनावात्रा पनि अदालतको प्रक्रियामा सामेल भइरहेकी छिन् । यस मामिलामा उनलाई पदबाट हटाउन सकिने सम्भावना छ।

Share News