काठमाडौं । नेपालमा इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटी (इग्नु) का कार्यक्रमहरू सन् २००८ देखि सफलतापूर्वक सञ्चालन गर्दै आएको नेपाल इन्फर्मेशन टेक्नोलोजी (एनआइटी) ले हजारौं नेपाली विद्यार्थीलाई शैक्षिक अवसर प्रदान गरेको छ ।
खुला तथा दूर शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन एनआइटीले काउन्सिलिङ कक्षा, पुस्तक वितरण र आफ्नै व्यवस्थापनमार्फत अध्ययन–अध्यापनलाई सहज बनाउँदै आएको छ ।
हाल एनआइटीले नेपालमा इग्नुका एमबीए, बीसीए, बीए र बीकमजस्ता गुणस्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमले देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्ने अवसर दिएका छन् ।
भर्खरै लागू गरिएका सुधारअनुसार विद्यार्थीहरूले इज्ञानकोष र स्वाएम जस्ता डिजिटल प्लेटफर्ममार्फत अध्ययन सामग्री डाउनलोड गर्न सक्ने भएका छन् । साथै असफल विषयमा अर्को सेसनमै पुनः परीक्षा दिन पाउने, डिजिटल आईडी र प्रमाणपत्र अन्तर्राष्ट्रियस्तरमै सजिलै प्रमाणीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
हाल परीक्षा केन्द्र काठमाडौंमा मात्र भए पनि एनआइटीले निकट भविष्यमा अन्य शहर र प्रदेशसम्म विस्तार गर्ने योजना बनाएको छ । यसले ग्रामीण तथा टाढा क्षेत्रका विद्यार्थीलाई आफ्नै स्थानमै शिक्षा हासिल गर्ने अवसर दिनेछ ।
एनआइटीले शुल्क भुक्तानीमा किस्ताबन्दीको व्यवस्था गरेको छ, जसले आर्थिक अवस्था कमजोर विद्यार्थीलाई समेत सहज बनाएको छ । १८ वर्षमाथिका जुनसुकै उमेरका व्यक्तिले कार्यक्रममा सहभागिता जनाउन सक्ने सुविधा छ । हालै केही वरिष्ठ नागरिक र महिलाले डिग्री पूरा गरी प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् ।