काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ को अवलोकन गर्दै नेपालको अटो क्षेत्रको नवीन यात्रालाई समर्थन जनाएका छन् ।
देशकै सबैभन्दा ठूलो मानिएको यो अटोमोबाइल प्रदर्शनीमा अध्यक्ष प्रचण्डले विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘उड्ने कार’ को प्रत्यक्ष अनुभव लिएका छन् । एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु अग्रवालको साथमा दुई सिटे उड्ने कारमा चढेर प्रदर्शनी हेरेका प्रचण्डलाई उपस्थित दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए ।
नाडाका अध्यक्ष करण चौधरीले प्रचण्डलाई प्रदर्शनीको बारेमा विस्तृत जानकारी गराएका थिए। प्रविधिमा विशेष जोड दिइएको सो प्रदर्शनीमा एक रोबोटले प्रचण्डलाई स्वागत गर्दा कार्यक्रममा प्रविधिक नवीनता झल्किएको देखिन्थ्यो ।
यसपटकको नाडा अटो शोमा २ करोड २० लाख रुपैयाँसम्मका लक्जरी गाडीहरू, आधुनिक इलेक्ट्रिक सवारी, र उड्ने कारजस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सवारी साधन र पार्टपुर्जाहरू समावेश गरिएका छन् ।
राष्ट्रिय सभाका अध्यक्षको पनि उपस्थिति
प्रदर्शनीको अवलोकनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पनि उपस्थिति रह्यो । उनीहरूका साथमा उद्योगी, व्यवसायी, र प्रविधिमा रुचि राख्ने हजारौं दर्शकहरूको घुइँचो लागेको देखिन्थ्यो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको यो शोले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको अटोमोबाइल क्षेत्रको विकास, लगानी, तथा प्रविधि हस्तान्तरणमा सशक्त सन्देश दिएको छ । उड्ने कारको उपस्थितिले विशेष आकर्षण पैदा गर्दा, उद्योग क्षेत्रको सम्भावना र नयाँ सोचप्रतिको जनचासो थपिएको छ ।
