अमेरिकी शुल्कको प्रहार : जापानको निर्यातमा ४ वर्षयताकै ठूलो गिरावट

काठमाडौं । जुलाई महिनामा जापानको निर्यात करिब चार वर्षयताकै ठूलो मासिक गिरावटमा पुगेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । अमेरिकी शुल्कको प्रभाव अझ प्रबल बन्दै गएपछि निर्यातमा निर्भर अर्थतन्त्रको भविष्यबारे चिन्ता बढेको हो ।

संसारको चौथो ठूलो अर्थतन्त्र जापानको कुल निर्यात जुलाई महिनामा अघिल्लो वर्षको तुलनामा २.६ प्रतिशतले घटेको छ । यो फेब्रुअरी २०२१ पछि सबैभन्दा ठूलो मासिक गिरावट हो, जसबेला निर्यात ४.५ प्रतिशतले घटेको थियो ।

यो गिरावट बजारले गरेको २.१ प्रतिशतको अनुमानभन्दा ठूलो हो र लगातार तेस्रो महिनाको गिरावट हो । जून महिनामा पनि निर्यात ०.५ प्रतिशतले घटेको थियो ।

नोरिनचुकिन रिसर्च इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री ताकेशी मिनामीका अनुसार निर्यातको मूल्य घटे पनि जापानी निर्यातकर्ताले ठूला मूल्यवृद्धि नगरेकाले निर्यातको मात्रा भने हालसम्म स्थिर देखिएको छ ।

तर, उनले भने, ‘अन्ततः लागत उपभोक्तामाथि नै पास गर्नुपर्नेछ, जसले आगामी महिनामा बिक्रीलाई अझै असर गर्नेछ ।

अमेरिकातर्फ जुलाईमा निर्यात अघिल्लो वर्षको तुलनामा १०.१ प्रतिशतले घट्यो । यसमा सवारीसाधनको निर्यात २८.४ प्रतिशतले र अटो पार्ट्स १७.४ प्रतिशतले घटेका छन् । तर कारोबारको हिसाबले सवारीसाधन निर्यात मात्र ३.२ प्रतिशतले घटेको छ, जसले जापानी अटोमोबाइल कम्पनीहरूले मूल्य कटौती तथा थप शुल्कको असर आफ्नै भरमा बहन गर्ने प्रयास गरेको देखाउँछ ।

अमेरिकाले गत अप्रिलमा सवारीसाधन तथा पार्ट्समा २५ प्रतिशत शुल्क लगाएको थियो र अधिकांश जापानी वस्तुमा पनि त्यस्तै शुल्क लगाउने धम्की दिएको थियो । तर जुलाई २३ मा भएको व्यापार सम्झौतापछि शुल्क दर १५ प्रतिशतमा घटाइएको छ । यसबापत जापानले अमेरिकातर्फ ५५० अर्ब डलर बराबरको लगानी प्याकेज दिने सहमति गरेको हो ।

तर पनि जापानको सबैभन्दा ठूलो निर्यात क्षेत्र सवारीसाधनमा लागू भएको १५ प्रतिशत शुल्क सुरुवाती २।५ प्रतिशतभन्दा अझै धेरै भएकाले प्रमुख अटोमोबाइल निर्माता तथा पाट्र्स आपूर्तिकर्तामाथि ठूलो दबाब परेको छ ।

अन्य क्षेत्रमा पनि निर्यात कमजोर रह्यो । चीनतर्फको निर्यात ३.५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।

जुलाईमा कुल आयात अघिल्लो वर्षको तुलनामा ७.५ प्रतिशतले घट्यो, जुन बजारले अनुमान गरेको १०.४ प्रतिशतको गिरावटभन्दा कम हो ।

यसै परिणामस्वरूप जापानले जुलाईमा ११७.५ अर्ब येन (७९५.४ मिलियन डलर) बराबरको घाटा खेप्नु पर्यो, जबकि बजारले १९६.२ अर्ब येनको नाफा हुने अनुमान गरेको थियो ।

यो नतिजा अप्रिल–जून त्रैमासिकमा अप्रत्याशित रूपमा उच्च आर्थिक वृद्धिदर देखाउने छुट्टै तथ्याङ्कपछि आएको हो । उक्त वृद्धिमा निर्यात र पुँजीगत खर्चको स्थायित्व प्रमुख कारण देखिएको थियो ।

अर्थशास्त्रीहरूका अनुसार जीडीपीमा देखिएको बलियो निर्यात वृद्धिले मूल्य परिवर्तनलाई कसरी गणना गरिन्छ भन्ने भिन्नतालाई देखाउँछ ।

यद्यपि, नोरिनचुकिनका मिनामीका अनुसार जापानी अर्थतन्त्र अहिलेसम्म सबैभन्दा खराब अवस्थाबाट जोगिएको छ ।

उनले भने, ‘शुल्क सम्झौताले कम्तीमा अनिश्चितता घटाएकोले जापानको केन्द्रीय बैंक ९बीओजी० ले अक्टोबरमै ब्याजदर बढाउन सुरु गर्नसक्छ ।’

ट्रम्पले रोक्न खोजे पनि भारतमै बढ्दै एप्पल उत्पादन, बेंगलुरुमा आइफोन-१७ निर्माण सुरु

सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी

Share News