काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई रुबेलामुक्त भएको देशका रूपमा घोषणा गरेको छ । योसँगै नेपाल रुबेला उन्मुलन गर्ने विशिष्ट देशहरूको सूचीमा सामेल भएको छ ।
भुटान, उत्तर कोरिया, माल्दिभ्स र तिमोर लेस्टे योभन्दा अगाडि नै रुबेला मुक्त भइसकेका छन् । नेपाल दिक्षणपूर्वी एशियामा छैटौं देशका रूपमा रुबेला मुक्त घोषणा भएको डब्ल्यूएचओले जनाएको छ ।
नेपालले सन २०१८ मै रुबेला र जन्मजात रुबेलाका लक्षणलाई नियन्त्रणमा ल्याइसकेको थियो । सन २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गरेको थियो । सन् २०१६ मा नियमित तालिकामा रुबेला खोपको दोस्रो मात्रा थप गरिएको थियो ।
त्यसपछि सरकारले नियमित रूपमा खोप कार्यक्रम अगाडि बढाएको थियो । जसको परिणाम सन् २०२४ मा नेपालले कम्तीमा एकमात्र रुबेला खोपको ९५ प्रतिशत भन्दा बढीले खोप पाएका थिए ।
नेपालले सन २००४ देखि नै रुबेला रोकथामका लागि काम गरेको थियो । नेपालले कार्यक्रम सुरु गरेको २१ वर्षपछि सफलता हात पारेको छ ।
के हो रुबेला ?
रुबेला संक्रामक रोग हो । यसलाई जर्मन मिजल्स पनि भनिन्छ । चाँडै महामारीको रूपमा फैलने यो रोग पहिले पहिले नेपालमा डरलाग्दो रोगका रूपमा देखिने गर्थ्यो ।
विशेषगरी यो रोग पाँच वर्षमुनिका बालबालिकामा देखा पर्छ । भाइरस शरीरमा गएको छोटो समयमा छालामा रातो बिबिरा देखिने ज्वरो आउने हुन्छ । एक पटक दादुरा संक्रमण भएको व्यक्तिमा अर्को पटक यो रोग लाग्दैन ।
धेरै वर्ष पहिले महामारीको रुपमा देखिने यो रोग पछिल्ला केही समयमा निकै कम हुँदै गएको छ ।
यो रोग बिरामीले खोक्दा हाच्छयुँ गर्दा श्वासप्रश्वासबाट सर्ने गर्छ । यो रोग लाग्दा आँखा रातो हुने, शरीरमा बिमीरा आउने,हल्का ज्वरो आउने, आँसु बग्ने हुन्छ । यो रोग गर्भवती महिलाका लागि निकै गम्भीर मानिन्छ । किनकि यसले गर्भपतन, मृत शिशु जन्म वा जीवनभर असर गर्ने गम्भीर जन्मजात विकृति ल्याउन सक्छ।