काठमाडौं । नाडा अटो शोमा नयाँ गाडीहरू सार्वजनिक गर्ने लहर सुरु भएको छ । मंगलबार सुरु भएको नाडा अटो शोमा पनि आकर्षक नयाँ गाडीहरू सार्वजनिक भएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको अटो शोमा उड्ने कारदेखि विश्व अटो बजारमा आएका नयाँनयाँ गाडीहरू सार्वजनिक भएका छन् । यसले नाडा अटो शोको आकर्षणमा थप उत्साह थपेको छ ।
यस पटकको नाडा अटो शोमा इलेक्ट्रिक भेहिकल (ईभी) को बाहुल्यता देखिएको छ भने एमएडब्लु ग्रुपले प्रदर्शनमा राखेको ‘फ्लाइङ ट्याक्सी’ अवलोकनकर्ताका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ ।
यी हुन् लञ्च भएका नयाँ गाडी
बीवाईडी एटो–टू
चिनियाँ ईभी निर्माता बिवाईडीले यस पटकको अटो शोमा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी ‘एटो टू’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो गाडी डल्फिन र एटो थ्रीको बीचको भेरियन्ट हो । यसमा १०० किलोवाटको मोटर र ५१.१३ किलोवाट आवरको ब्लेड ब्याट्री प्याक छ ।
एक पटकको फुल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । यसको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नाडा अटो शोमा नगद छुट नभए पनि मोटर र ब्याट्रीमा ८ वर्षको सट्टा १० वर्षको विस्तारित वारेन्टी प्रदान गरेको छ । नबिल बैंकसँगको सहकार्यमा ७ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा सुविधा उपलब्ध रहेको कम्पनीको दाबी छ ।
सुजुकीको ई-भिटारा
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयुभी ‘ई-भिटारा’ लाई शोमा प्रदर्शनमा राखेको छ । तर, यसको आधिकारिक लन्च र मूल्य भने सार्वजनिक गरिएको छैन ।
कम्पनीका अनुसार यसको ब्याट्री ४१ किलोवाट र ६१ किलोवाट गरी दुई भेरियन्टमा आउनेछ । ५०० किलोमिटरभन्दा बढीको रेन्ज दाबी गरिएको छ । ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिट र १८ इन्चको डायमण्ड कट ह्विल जस्ता फिचरहरू रहनेछन् । यसको अनुमानित मूल्य ६० देखि ७० लाखको बीचमा रहने अनुमान छ ।
हाललाई ‘शो–पिस’ का रूपमा मात्र राखिएको र यसै साताभित्र मूल्य सार्वजनिक गरिने सेल्स अफिसर देवराज ढकालले जानकारी दिए । अटो शोमा ब्रेजा, जिम्नी र फ्रन्क्स जस्ता सफल मोडलहरू पनि राखिएको छ ।
टाटा टियागो ईभी नयाँ रङमा
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस पटक सफारी डिजेल मोडल लन्च गर्नुका साथै लोकप्रिय ‘टियागो ईभी’ लाई नयाँ ‘एरिजोना ब्लु’ रङमा प्रस्तुत गरेको छ ।
टियागो ईभीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसले २४ किलोवाटको ब्याट्री प्याक, २०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । टाटाले नाडा अफर सबै ईभीमा नगद छुट गरेको छ ।
एक वर्षको निःशुल्क बीमा र एक्सेसरीज उपलब्ध गरिएको कम्पनीले जनाएको छ । जसमा तीन वर्षसम्मको निःशुल्क सर्भिसिङको सुबिधा रहेको छ । यस्तै टाटाको चार्जिङ नेटवर्कमा निःशुल्क चार्जको सुविधा दिएको छ।
बैंकिङ सुविधा अन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ६० प्रतिशत सम्म कर्जा पाइने र प्रभु बैंक (६.२८ प्रतिशत) तथा एभरेस्ट बैंक (६.५२ प्रतिशत) जस्ता बैंकहरूले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिइरहेको प्रतिनिधि निरज डांगीले बताए ।
फोटोन जी सेभेन
कमर्सियल भेइकल सेगमेन्टमा फोटनले आफ्नो जी सेभेन पिकअपलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ । यसमा लक्जरी भेरियन्टको ६५ लाख ४० हजार र फ्ल्यागसिप भेरियन्टको ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
यसका साथै युनिक फिचर पिकअप सेगमेन्टमै पहिलो पटक सनरुफको सुविधा रहेको कम्पनीले जनाएको छ । जसको २२५ एमएमको उच्च ग्राउन्ड क्लेरेन्स रहेको छ ।

नाडा अटो शो अफर अन्तर्गत बुकिङ गर्ने ग्राहकलाई ३ वर्षको सर्भिस प्याकेज, बीमा तथा ४ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने जनाएको छ ।
एमएडब्लूले नै सार्वजनिक गरेको उड्ने कार पनि नाडा अटो शोमा आकर्षकका रुपमा देखिएको छ । यो दुई सिट क्षमताको पूर्णत इलेक्ट्रिक सवारी हो । ३० देखि ५० किलोमिटरसम्मको रेन्ज क्षमता रहेको छ । जीपीएसमार्फत स्वचालित रूपमा सञ्चालन गर्न सकिन्छ ।
नेपालमा यससम्बन्धी नीति–नियम नभएकाले हाल डेमो उडान नगरिएको र बिक्रीका लागि उपलब्ध छैन । चीनमा यसको परीक्षण उडान भइसकेको र सन् २०२६ देखि पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा छ । सरकारले आवश्यक नीति–नियम र पूर्वाधार बनाएमा नेपालको पहाडी क्षेत्रमा उद्धार कार्य र काठमाडौं जस्तो सहरमा ट्राफिक जाम कम गर्न यो निकै उपयोगी हुन सक्ने बताइएको छ ।
नामी नयाँ एसयुभी ‘भिगो’
एमएडब्लु वृद्धि मोटर्सले नामी ब्राण्डअन्तर्गत नयाँ फुल साइज एसयुभी ‘भिगो’ लन्च गरेको छ । कम्पनीका अनुसार यसमा ग्राउन्ड क्लेरेन्स १९० एमएम रहेको छ । ‘हेभेन एन्ड हेल’ टेलगेट, जुन क्याम्पिङका लागि निकै उपयोगी छ ।
यसमा नाडा विशेष मूल्य तोकिएको छ । बेस भेरियन्टको ३७ लाख ९९ हजार र टप भेरियन्टको ४० लाख ९९ हजार रुपैयाँ १ लाख छुटसहित उपलब्ध गर्ने बताएको छ । अन्य मोडलमा अफर नामी ई–थ्री ह्याचब्याकमा ८० हजार रुपैयाँ छुट उपलब्ध गरेको छ ।