काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
बीवाइडीकी प्रबन्ध निर्देश्क यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको छ ।
'यो गाडी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो तर भित्री डिजाइन र अनुभवमा एसयुभीको विशेषता बोकेको छ,' उनले भनिन् ।
मुख्य विशेषता र रेन्ज
एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।
कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज दिन्छ । शाक्यले नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा १०(२० किलोमिटरको सामान्य घटबढ हुन सक्ने बताए ।
सबै बिवाइडी गाडीहरूमा जस्तै यसमा पनि विश्वकै सबैभन्दा सुरक्षित मानिने 'ब्लेड ब्याट्री' प्रविधिको प्रयोग गरिएको छ ।
नाडा अटो शोमा किने १० वर्षको वारेन्टी
नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । यद्यपि यसमा नगद छुटको व्यवस्था छैन, तर ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्यतया कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
फाइनान्स सुविधा
गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ ।
अटो शोमा बिवाइडीले एटो टूका साथै सिल र एटो वान (डल्फिन) पनि प्रदर्शनमा राखेको छ ।
कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको अफरको लाभ उठाउन आग्रह गरेको छ ।