नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने - पछाडि परेकाले अरूभन्दा छिटो दौडनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको दौडमा पछाडि परेकोले अब अरूभन्दा छिटो दौडनुपर्ने बेला आएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो २०२५ को १७औं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको समग्र विकासका लागि सबै क्षेत्रले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए ।

उनले संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्रीको पुस्तक 'माई भिजन' मा उल्लेखित सिंह र हरिणको कथा सुनाउँदै विकासको गति बढाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, 'जंगलमा सिंहले सबैभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकेन भने भोकै मर्छ, र हरिणले सबैभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्न सकेन भने मारिन्छ । बाँच्नका लागि सबैले छिटो दौडनैपर्छ । हामी विकासमा पहिल्यै पछाडि छुटिसकेका छौं, त्यसैले हामीले अरूभन्दा छिटो दौडनुपर्छ ।'

उनले युवा उद्यमी, व्यवसायी, कर्मचारी र विद्यार्थीहरूलाई नयाँ सोच र ऊर्जाका साथ अगाडि बढ्न आग्रह गरे ।प्रविधिको विकास तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले सन् १९३९ मा अमेरिकी राष्ट्रपति रुजवेल्टले पहिलो पटक टेलिभिजनको उद्घाटन गर्दा त्यो असम्भव जस्तो लागे पनि आज सामान्य भइसकेको प्रसङ्ग जोडे।

उनले भने, 'नेपालमा २०४२ सालमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आउँदा ठूलो कुरा थियो, आज हामी स्मार्ट युगमा छौं । हाम्रा स्कुले विद्यार्थीहरूले मोटरसाइकल र स्याटलाइट बनाइरहेका छन्, यो खुसीको कुरा हो ।'

नाडाले युवा नेतृत्व पाएकोमा प्रशंसा गर्दै अध्यक्षलाई ऊर्जावान् र भिजनरीको संज्ञा दिए । उनले भने, 'अब युवाहरूको समय आएको छ र युवाहरूले गर्न सक्छन् भन्ने विश्वास छ ।'

यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय सरकारले लिएका नीतिगत सुधारका कारण अर्थतन्त्रमा उत्साह थपिएको बताए ।

उनले सरकारले हालै लागू गरेको युरो सिक्स मापदण्डका कारण व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि केही समय दिन सरकारसँग आग्रह गरे ।

समारोहको उद्घाटन प्रधानमन्त्रीले रोबोटिक्स एसोसिएसन अफ नेपालको सहयोगमा आईओटी-बेस्ड प्रविधिबाट पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा नाडाको मुखपत्र नाडा अटो न्युज को ५०औं अंकको पनि विमोचन गरिएको थियो ।   

Share News