काठमाडौं । उडड्यन क्षेत्रका मुख्य प्रतिस्पर्धी हवाई कम्पनी हुन्- बुद्ध एयर, यति एयर र श्री एयरलाइन्स । आन्तरिक हवाई उडड्यनमा यी क्षेत्रमा यी तीनवटै कम्पनीले अधिकांश हिस्सा ओगटेका छन् ।
यी तीन एयरलाइन्स कम्पनीले एक वर्षमा साढे २१ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा २१ अर्ब ५५ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेका हुन् ।
गत वर्ष सबैभन्दा धेरै कारोबार बुद्ध एयरले गरेको छ । कम्पनीले १३ अर्ब २२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो । यस्तै, यति एयरलाइन्सले ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ र श्री एयरले ४ अर्ब ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको तथ्याङ्क छ ।
पछिल्लो तथ्याङ्कअनुसार भने गत आर्थिक वर्ष यी तीनै कम्पनीले १४ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । साथै यी तीन कम्पनीको नेपाली हवाई क्षेत्रमा ९३ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।
बुद्ध एयर
बुद्ध एयरले नेपालको आन्तरिक हवाई उडानमा ६० प्रतिशत बजार हिस्सा ओगटेको दाबी गरेको छ । सन् १९९६ मा स्थापित बुद्ध एयरले १८ सिटे जहाजबाट उडान सुरु गरेको थियो । नेपालको आन्तरिक हवाई सेवा क्षेत्रमा जहाज संख्या, लगानी, बजार हिस्सालगायतम बुद्ध एयर अग्रणी कम्पनी हो ।
कम्पनीले सन् २०२३ मा १२ अर्ब १६ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा १० अर्ब ९ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ, सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँको आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीले सन् २०१७ मा ५ अर्ब ७९ करोड ४० लाख रुपैयाँ, सन् २०१६ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ३ अर्ब ८ करोड ९१ लाख रुपैयाँ र १८.७४ मिलियन अमेरिकी डलर ऋण लिएको छ । कम्पनीका अनुसार ८७ करोड रुपैयाँ अल्पकालीन ऋण, ८२ करोड ९९ लाख रुपैयाँ ओभरड्राफ्ट र ८ करोड रुपैयाँ बैंक ग्यारेन्टी लिएको छ ।

बुद्ध एयरले काठमाडौं, पोखरा, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, जनकपुर, भद्रपुरलगायत देशका प्रमुख सहरहरूमा दैनिक उडान गर्दै आएको छ । यसका साथै कम्पनीले हिमाल दर्शन उडान तथा पोखराबाट अन्नपूर्ण क्षेत्रका विशेष उडान पनि सञ्चालन गर्दै आएको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । कम्पनीको अध्यक्ष वीरेन्द्र बस्नेत हुन् ।
यति एयरलाइन्स
सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ ।
कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् ।
साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् ।
यति एयरलाइन्सले गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२५) को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ । कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ ।
श्री एयरलाइन्स
एयर अनन्याको नाममा सन् १९९९ मा स्थापित कम्पनीले पछि नम परिवर्तन गर्दै श्री एयरलाइन्स बनेको हो । साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् ।
मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ ।
श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । गत आव २०८१/८२ (सन् २०२५) को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड–विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई–८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ ।