बीवाईडी र साओमीसँगको भिडन्तमा टेस्लाको नयाँ हतियार ‘मोडेल वाई एल’

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ मोडेल वाई एल चीनमा छिट्टै आउने घोषणा गरेको छ । कम्पनीले सोमबार चिनियाँ सामाजिक सञ्जाल ‘वेइबो’मार्फत उक्त जानकारी दिँदै यसअघि नै चीनमा यो नयाँ मोडेल ल्याउने योजना बनाइसकेको जनाएको हो ।

मोडेल वाई एल कम्पनीको सबैभन्दा बढी बिक्री हुने मोडेल वाईको लामो ह्वीलबेस भएको ६ सिटे गाडी हो । टेस्लाले वेइबोमा सो नयाँ मोडेलको भिडियो पनि सार्वजनिक गरेको छ ।

चीनमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा टेस्लाले आफ्नो उत्पादन लाइनअपलाई ताजा पार्दैछ । हालै साओमीले ल्याएको वाईयू सेभेन मोडेलसँगै प्रतिस्पर्धा झनै तीव्र भएको छ ।

null

माेडेल वाई एल 

एलन मस्कको टेस्लाले जुलाई महिनामा चीनमै बनेका आफ्ना इलेक्ट्रिक सवारीसाधनको बिक्रीमा ८.४ प्रतिशत गिरावट दर्ता गरेको थियो । चीनका प्रतिस्पर्धी कम्पनीहरूले सस्तो मूल्यमा इभी उपलब्ध गराइरहेको अवस्थामा मूल्ययुद्धका कारण गाडी निर्माता, आपूर्तिकर्ता र डिलरहरूमाथि दबाब बढ्दै गएको छ ।

यसबाहेक लामो दूरी तय गर्ने र पछाडिबाट चल्ने (रियर–ह्वील ड्राइभ) मोडेल ३ पनि चाँडै चीनको बजारमा आउँदैछ । यसबारेको विवरण चीनको उद्योग मन्त्रालयको वेबसाइटमा जुलाई महिनामा प्रकाशित भएको थियो ।

चीन अहिले विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारीसाधनको बजार हो । सरकारी प्रोत्साहन, चार्जिङ स्टेसनको तीव्र विस्तार र स्थानीय कम्पनीहरूको आक्रामक रणनीतिले गर्दा विदेशी कम्पनीहरू दबाबमा परेका छन् । बीवाईडी, निओ, एक्सपेङ्ग जस्ता चिनियाँ ब्रान्डहरूले मूल्य तथा प्राविधिक सुविधामा प्रयोगकर्तालाई आकर्षित गरिरहेका छन् ।

null

मोडेल वाई एल 

सन् २०२३ मा मात्र चीनमा करिब ८५ लाखभन्दा बढी इलेक्ट्रिक कार बिक्री भएका थिए, जुन विश्वकै कुल बिक्रीको आधाभन्दा बढी हो । यसले चीनलाई इभी प्रविधिको ‘केन्द्र’ बनाइदिएको छ । 

टेस्लाजस्ता विदेशी कम्पनीहरूले चीनलाई आफ्नो प्रमुख बजारका रूपमा हेरे पनि अब उनीहरूलाई स्थानीय प्रतिद्वन्द्वीहरूसँग लगातार मूल्य र गुणस्तरको प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ ।

विशेषज्ञहरूको भनाइमा टेस्लाले ल्याउन लागेको मोडेल वाई एलले परिवारिक ग्राहकलाई लक्षित गरेको छ । चीनमा ठूलो साइजका बहु–सिट कारप्रति माग बढिरहेको छ, जसले गर्दा नयाँ भेरियन्टले कम्पनीको बिक्रीमा केही हदसम्म पुनः सुधार ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

तर, बजार विश्लेषकहरूले भने टेस्लालाई केवल नयाँ मोडेल ल्याएर मात्र दीर्घकालीन सफलता पाउन कठिन हुने बताइरहेका छन् । मूल्ययुद्ध, ब्याट्री प्रविधिमा भएको तीव्र विकास र स्थानीय कम्पनीहरूको सस्तो उत्पादनले गर्दा कम्पनीले अझ गहिरो रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ ।

ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी
 

Share News