काठमाडौं । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुँदैछ । राजधानीको भृकुटीमण्डपमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
नाडाका अनुसार यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ ।
कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् ।
भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ ।
नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन् ।
नाडा अटो शो करिब डेढ दर्जन (चारपाङ्ग्रे/दुईपाङ्ग्रे) नयाँ सवारी मोडल सार्वजनिक हुने छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ ।
आकर्षण मानिएको नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने नाडाले जनाएको छ ।