काठमाडौं । नेकपा एमालेबाट निर्वाचित मेयर र उपमेयर विवाद अन्ततः वडाध्यक्षको राजीनामासम्म पुगेको छ । दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र वडा- ८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहबीच दुई वर्षदेखि चलेको विवाद शाहको राजीनामासँगै टुंगिएको हो ।
आफ्नो वडालाई बजेट विनियोजनमा पक्षपात गरेको भन्दै २०८० असार १२ गते शाहले राजीनामा दिएका थिए । तर मेयर चौधरीले दुई वर्षपछि आज सोमबार बिहान मात्रै शाहको राजीनामा स्वीकार गरेको उपमहानगर स्रोतले बताएको छ ।
मेयर चौधरी पनि अध्यक्ष शाहको राजीनामा स्वीकृत गरेर काठामाडौंतर्फ लागेका छन् । काठमाडौं उड्न नेपालगञ्ज विमानस्थलमा रहेका मेयर चौधरीले अध्यक्ष शाहको राजीनामा स्वीकृत भएको जानकारी दिए ।
राजीनामा दिएका अध्यक्ष शाहले यसबारेमा बोल्न चाहेनन् । राजीनामा लामो समय कोटको खल्तीमा राखेर सम्झाउँदा पनि उनको आनीबानीमा कुनै सुधार नदेखेपछि आफूले राजीनामा स्वीकृत गरेको मेयर चौधरीले जानकारी दिए ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रसमेत रहेको घोराही उपमहानगरमा एमालेबाटै निर्वाचित पदाधिकारीहरूबीच विवाद रहँदै आएको एक वडाध्यक्षले जानकारी दिए ।
वडाध्यक्ष शाहले नेपाली कांग्रेसका उमेदवारलाई पराजित गरेका थिए । शाहको राजीनामा स्वीकृत भएसँगै जेष्ठ वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडाध्यक्ष तोकिएको उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिए ।