विश्वको दोस्रो धनी व्यक्ति बने ल्यारी एलिसन, एकै वर्ष १०७ अर्ब डलरको वृद्धि

काठमाडौं । विश्वका धनीहरूको सूचीमा यस वर्ष ओरेकलका संस्थापक ल्यारी एलिसन तीव्र गतिमा अगाडि बढेका छन् । यस वर्ष मात्रै उनको नेटवर्थमा १०८ अर्ब डलरको वृद्धि भएको छ ।

हाल एलिसनको कुल नेटवर्थ ३०१ अर्ब डलर पुगेको छ । यस आधारमा उनी एलन मस्क (३७२ अर्ब) पछि दोस्रो स्थानमा छन् । एलिसन ओरेकलका संस्थापक मात्र होइनन्, कम्पनीका सबैभन्दा ठूलो सेयरधनी पनि हुन् । ओरेकल मुख्यतया डेटाबेस सफ्टवेयर विकास गर्ने कम्पनी हो ।

ल्यारी एलिसनको जन्म १९४४ मा न्युयोर्कमा भएको हो । उनी एकल महिलाको सन्तान थिए । नौ महिनाको उमेरमा निमोनिया भएपछि उनकी आमाले उनलाई आफ्नी दिदी–भिनाजुलाई सुम्पिएकी थिइन् । उनको बाल्यकाल सिकागोको साउथ साइडमा बित्यो ।

एलिसनले युनिभर्सिटी अफ इलिनोई र युनिभर्सिटी अफ शिकागो दुबै अधुरै छाडे । पछि २२ वर्षको उमेरमा उनी क्यालिफोर्नियाको बर्कले सरे र एम्पेक्स नामक कम्पनीमा कम्प्युटर प्रोग्रामरको काम सुरु गरे ।

सन् १९७७ मा उनले आफ्ना दुई सहकर्मीहरूसँग मिलेर कम्पनी स्थापना गरे, जसको नाम पछि ओरेकल राखियो।

ओरेकलले प्रारम्भमा अमेरिकी खुफिया निकाय सीआईएका लागि डेटाबेस तयार पारेको थियो । कम्पनीले १९८६ मा आईपीओ ल्याएर आफ्नो व्यावसायिक विस्तार सुरु ग¥यो ।

सन् २०१० मा ओरेकलले सन माइक्रोसिस्टम्स लाई ७.४ अर्ब डलरमा किने । सन् २०१६ मा कम्पनीले नेटसुइटलाई ९ अर्ब डलरमा अधिग्रहण गर्यो ।

३१ मे २०२४ मा समाप्त भएको वर्षमा कम्पनीले ५३ अर्ब डलर राजस्व आर्जन गर्यो । हाल एलिसनसँग कम्पनीका ४० प्रतिशतभन्दा बढी सेयर रहेका छन् ।

ओरेकलको मुख्यालय अस्टिन, टेक्सासमा रहेको छ ।

कम्पनीसँगै एलिसनले टेस्लामा पनि लगानी गरेका छन् । उनीसँग आफ्नो सेलिङ टिम, इन्डियन वेल्स टेनिस इभेन्ट तथा हवाईको लनाइ टापु समेत छ ।

८० वर्षीय एलिसन आफ्नो विलासी जीवनशैलीका लागि प्रख्यात छन् । उनले लक्जरी रियल एस्टेटमा ठूलो लगानी गरेका छन् ।

सन् २०१० मा उनले आफ्नो सम्पत्तिको कम्तीमा ९५ प्रतिशत दान गर्ने वाचा गरेका थिए ।

करिब ३७ वर्षसम्म ओरेकलको नेतृत्व गरेपछि एलिसनले सेप्टेम्बर २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए ।

हाल उनी कम्पनीका चेयरम्यान र चीफ टेक्नोलोजी अफिसर (सीटीओ) छन्। सन् २०१८ देखि २०२२ सम्म उनी टेस्लाको बोर्डमा समेत रहे । सन् २०१२ मा उनले हवाईको एउटा पूरा टापु ३०० मिलियन डलरमा खरिद गरे र २०२० देखि स्थायी रूपमा त्यहीँ बस्न थाले ।

ओरेकल र टेस्लासँगै उनको कयौं अन्य कम्पनीमा पनि हिस्सेदारी छ ।

Share News