काठमाडौं । पुल्चोक, ललितपुरमा स्थापना भएको इम्बार्क कलेजले व्यवसायिक शिक्षामा नयाँ अध्याय सुरु गरेको छ । अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय साझेदारी र उद्योग–केन्द्रित पाठ्यक्रमका माध्यमबाट कलेजले उच्च शिक्षामा व्यवहारिकता र उद्यमशीलतालाई मुख्य आधार बनाउँदै विद्यार्थीलाई भविष्यका व्यवसायिक नेता र नवप्रवर्तकको रूपमा तयार पार्ने अभियान थालेको हो ।
इम्बार्क कलेजले परम्परागत शिक्षण पद्धतिलाई चुनौती दिँदै व्यवहारिक सिकाइ, अनुसन्धान, उद्यमशीलता र सामाजिक उत्तरदायित्वमा आधारित शिक्षालाई प्राथमिकता दिएको छ । यस कलेजले रोहेम्पटन विश्वविद्यालय (लन्डन, यूके) सँग सहकार्यमा सञ्चालन गर्दै आएका बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रमहरू मार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको डिग्री हासिल गर्ने अवसर प्रदान गरिरहेको छ ।
कलेजको उद्योग–सम्बद्ध पाठ्यक्रमले विद्यार्थीलाई केवल रोजगारीका लागि मात्र नभई व्यवसाय सिर्जना गर्ने क्षमतासमेत विकास गर्न मद्दत पुर्याउने बताइएको छ । कक्षा शिक्षणसँगै उद्योग भ्रमण, कार्यशाला, इन्टर्नसिप र परियोजना कार्यमार्फत विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाइने व्यवस्था गरिएको छ । करियर विकास केन्द्रमार्फत बायोडाटा लेखन, अन्तर्वार्ता तयारी र रोजगारी अवसरमा सहभागी हुने सीपसमेत प्रदान गरिन्छ ।
इम्बार्क कलेजको उद्यमशीलता प्रवर्द्धन केन्द्रले विद्यार्थीका नविन व्यावसायिक विचारलाई मूर्तरूप दिन सहयोग गर्दै आएको छ। व्यापार योजना निर्माणदेखि लगानी खोज र प्रोटोटाइप परीक्षणसम्म सहयोग उपलब्ध गराइने भएकाले विद्यार्थीलाई रोजगार खोज्नेभन्दा रोजगार सिर्जना गर्ने उद्यमी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
कलेजले व्यक्तिगत शैक्षिक परामर्श, मानसिक स्वास्थ्य सहयोग र समावेशी सिकाइ वातावरणमार्फत विद्यार्थीको सम्पूर्ण विकासमा जोड दिएको छ । डिजिटल लर्निङ प्लेटफर्म, पुस्तकालय, प्रयोगशाला तथा सहकार्यका लागि खुला स्थानहरूले शिक्षण वातावरणलाई अझ प्रभावकारी बनाएको कलेजले जनाएको छ ।
अनुसन्धानलाई प्राथमिकता दिँदै कलेजले ‘इम्बार्क अनुसन्धान सञ्जाल केन्द्र’ स्थापना गरेको छ। यसमार्फत स्थानीय व्यवसायिक केस–स्टडी, उद्योगसँगको सहकार्यमा हुने अनुसन्धान र नीतिगत अध्ययनमा विद्यार्थीलाई सहभागी गराइनेछ ।
छोटो समयमा नै इम्बार्क कलेजले नेपालमै बसेर अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा, व्यवहारिक अनुभव र सामाजिक उत्तरदायित्वलाई जोड्ने संस्थाको रूपमा पहिचान बनाएको छ । कलेजका अनुसार यहाँका स्नातक विद्यार्थीले केवल डिग्री मात्र नभई नेतृत्व, नवप्रवर्तन र सामाजिक योगदान गर्ने क्षमता पनि विकास गर्नेछन् ।