‍‍ट्रम्पले रोक्न खोजे पनि भारतमै बढ्दै एप्पल उत्पादन, बेंगलुरुमा आइफोन-१७ निर्माण सुरु

एप्पलका सीईओ टीम कुक र राष्ट्रपति डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रमा अग्रणी मानिने कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न भने पनि कम्पनीले त्यसविपरीत भारतमा उत्पादन झन् बढाएको छ । 

ताइवानको चर्चित इलेक्ट्रोनिक कम्पनी फक्सकनले बेंगलुरुस्थित आफ्नो नयाँ कारखानामा आइफोन-१७ निर्माण सुरु गरेको स्रोतले जनाएको छ । यो फक्सकनको दोस्रो सबैभन्दा ठूलो निर्माण इकाई हो । 

हाल यस प्लान्टमा सानो मात्रामा आइफोन-१७ बनाइँदैछ । फक्सकन पहिले नै चेन्नईस्थित आफ्नो कारखानामा पनि आइफोन–१७ उत्पादन गर्दै आएको छ । तर कम्पनीले यसबारे कुनै आधिकारिक बयान दिएको छैन ।

फक्सकन आइफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । चीनबाहिर उसको दोस्रो ठूलो कारखाना बेंगलुरु नजिकै देवनहल्लीमा निर्माण भइरहेको छ, जसमा करिब २.८ अर्ब डलर लगानी भइरहेको छ । 

एक जानकार स्रोतका अनुसार, ‘फक्सकनको बेंगलुरुस्थित कारखानामा आइफोन-१७ बनिसकेको छ ।’

आइफोन-१७ को उत्पादन केही समयका लागि अवरुद्ध भएको थियो किनभने सयौं चिनियाँ इन्जिनियरहरू अचानक फर्किएका थिए । तर फक्सकनले यो अभाव पूरा गर्न ताइवानसहित अन्य देशहरूबाट विशेषज्ञहरू बोलाएको छ । 

धेरै स्रोतका अनुसार एप्पलको योजना यस वर्ष आइफोन उत्पादन बढाएर ६ करोड इकाई पुर्याउने रहेको छ, जुन २०२४–२५ मा करिब ३.५ देखि ४ करोड युनिट थियो । कम्पनीले ३१ मार्च २०२५ मा सकिएको वित्तीय वर्षमा भारतमै करिब २२ अर्ब डलर बराबरको ६० प्रतिशत बढी आइफोन असेम्बल गरेको थियो ।

कम्पनीका सीईओ टिम कुकले ३१ जुलाईमा वित्तीय परिणाम घोषणा गर्दै २०२५ को जुन महिनामा अमेरिकामा बेचिएका अधिकांश आइफोन भारतमै बनेका बताएका थिए।

दोस्रो त्रैमासिक नतिजाबारे छलफल गर्ने क्रममा कुकले घोषणा गरेका थिए कि जुन त्रैमासमा अमेरिकामा बिक्री हुने सबै आइफोन भारतबाटै आपूर्ति गरिनेछ । दोस्रो त्रैमासमा एप्पलको भारतमा आपूर्ति वार्षिक आधारमा १९.७ प्रतिशतले बढेको थियो । यसरी देशको स्मार्टफोन बजारमा उसको हिस्सेदारी ७.५ प्रतिशत पुगेको छ ।

अन्तर्राष्ट्रिय तथ्यांक निगम (आईडीसी)का अनुसार २०२५ को जुन त्रैमासमा भारतको स्मार्टफोन बजारमा चिनियाँ कम्पनी भिभो १९ प्रतिशत बजार हिस्सेदारीसहित सबैभन्दा अगाडि रहेको थियो ।

सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी
 

Share News