ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट आइएलटिएस साझेदारलाई सम्मान, नयाँ अभियानको शुभारम्भ

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आइएलटिएस सम्बन्धी साझेदार सम्मेलन (पार्टनर समिट) मा उत्कृष्ट साझेदारलाई सम्मान गर्दै विभिन्न नयाँ अभियान सार्वजनिक गरेको छ । उक्त सम्मेलन साउन ३० गते काठमाडौंमा सम्पन्न भएको हो ।

कार्यक्रममा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म असाधारण योगदान पुर्याउने उत्कृष्ट साझेदारहरूलाई २० वटा विभिन्न श्रेणीमा पुरस्कार प्रदान गरिएको थियो । प्लेटिनम पार्टनरको रुपमा अर्बिट मेडिकल इन्ट्रान्स  र उत्कृष्ट संघको रुपमा इक्यानलाई सम्मान गरियो ।

यस अवसरमा 'ग्लोबल च्यानल पार्टनर अभियान' शुभारम्भ गरिएको छ । यस अभियानअन्तर्गत सबै साझेदारले-सानो वा ठूलो समूहगत वा व्यक्तिगत उपलब्धिका आधारमा निष्पक्ष प्रतिस्पर्धा गर्दै सम्मान र पुरस्कार जित्ने अवसर पाउनेछन् । उत्कृष्ट साझेदारलाई आर्थिक सहयोगसहित लन्डनस्थित ब्रिटिस काउन्सिल मुख्यालयमा हुने समारोहमा सहभागी गराइने र शैक्षिक भ्रमणमा समेत संलग्न गराइनेछ ।

त्यस्तै, ब्रिटिस काउन्सिलले टर्किस एयरलाइन्स, पठाओ र सफारीसँग सहकार्यमा आइएलटिएस उपहार अभियान–सिजन ३ शुभारम्भ गरेको छ । यस अन्तर्गत परीक्षा दिने विद्यार्थीहरूले हरेक दिन, हरेक साता र हरेक महिनामा उपहार जित्ने अवसर पाउनेछन् ।

बम्पर पुरस्कारअन्तर्गत बेलायत, अमेरिका, अस्ट्रेलिया वा युरोप गन्तव्यका लागि चारवटा एकतर्फी हवाई टिकट, एप्पल म्याकबुक एयर, सफारी सुटकेश, पठाओमा छुट तथा विभिन्न रेस्टुरेन्ट भौचरसमेत समावेश गरिएका छन् ।

अभियानमा सहभागी हुनका लागि विद्यार्थीहरूले साउन ३० गतेदेखि कात्तिक १४ गतेसम्म आइएलटिएस लिखित वा कम्प्युटर परीक्षा बुकिङ गरी रकम बुझाउनु पर्नेछ ।

Share News