काठमाडौं । टोयोटाले सन् २०२६ मा दक्षिण अफ्रिकामा तीनवटा पूर्णतया विद्युतीय मोडल प्रस्तुत गर्ने योजना बनाएको छ । कम्पनीका एक वरिष्ठ कार्यकारीले बिहीबार यो जानकारी दिएका हुन् ।
यससँगै टोयोटा त्यहाँको प्रारम्भिक चरणको ईभी बजारमा प्रवेश गर्नेछ, जहाँ चिनियाँ प्रतिद्वन्द्वीहरू जस्तै बीवाईडी पहिले नै युरोपेली गाडी निर्माताहरूसँग प्रतिस्पर्धामा छन्।
हाल दक्षिण अफ्रिकाको ईभी बिक्रीमा भोल्भो अगाडि छ र त्यसपछि बीएमडब्ल्यू र मर्सिडिज-बेन्ज छन् । यता चिनियाँ ईभी निर्माताहरूले पनि अमेरिका र युरोपमा निर्यात प्रतिबन्धको बीचमा नयाँ बजार खोज्दै दक्षिण अफ्रिकामा प्रवेश तीव्र पारेका छन् ।
टोयोटाले हाल दक्षिण अफ्रिकामा केवल हाइब्रिड विद्युतीय गाडीहरू मात्र बेच्दै आएको छ तर २०२४ मा हाइब्रिड र प्लग-इन हाइब्रिड बजारमा ६७ प्रतिशतको अग्रणी हिस्सा ओगटेको छ, जसमध्ये कोरोला क्रसजस्ता मोडल प्रमुख छन् ।
टोयोटा साउथ अफ्रिकाका सीईओ एन्ड्र्यु किर्बीले रोयटर्ससँगको अन्तर्वार्तामा भने, ‘हामी २०२६ को सुरुवातमै ब्याट्री विद्युतीय गाडी ल्याउँदैछौं, जसमा तीन नयाँ मोडल हुनेछन् ।’
‘हामीलाई विश्वास छैन कि भविष्यमा कुनै एक मात्र पावरट्रेनले बजार कब्जा गर्छ । त्यसैले हामीसँग आन्तरिक दहन इन्जिन, हाइब्रिड, प्लग-इन हाइब्रिड, ब्याट्री विद्युतीय गाडी, फ्युल सेल विद्युतीय गाडी र सम्भवतः कार्बन न्यूट्रल आन्तरिक दहन इन्जिन पनि रहनेछन्,’ उनले थपे ।
दक्षिण अफ्रिकामा कम आम्दानी, उच्च आयात शुल्क, अनिश्चित विद्युत आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारको अभावका कारण लामो समयदेखि ईभी बिक्रीमा चुनौती रहँदै आएको छ । हालसम्म कुल गाडी बिक्रीमा ईभीको हिस्सा निकै कम छ ।
चिनियाँ प्रतिस्पर्धाबारे किर्बी भन्छन्, ‘हामी प्रतिस्पर्धालाई स्वागत गर्छौं, तर यो हाम्रो लागि निकै रणनीतिक चिन्ता हो र हामीले छिटो र सही तरिकाले प्रतिक्रिया दिनुपर्छ। यो ठूलो चुनौती हो ।’
उनका अनुसार दक्षिण अफ्रिकाको अटोमोबाइल क्षेत्र अहिले यस्तो मोडमा पुगेको छ, जहाँ उत्पादन मात्रा स्थिर छ, स्थानीय सामग्रीको हिस्सा घटेको छ र आयातित गाडी बिक्री बढेको छ ।
यसै कारण टोयोटा, बीएमडब्ल्यू, इसुजु र फक्सवागनसहित सात प्रमुख गाडी निर्माताहरूले व्यापार तथा उद्योगमन्त्रीलाई स्थानीय उद्योगलाई सहयोग र संरक्षण गर्नका लागि नीतिगत सिफारिस पत्र पठाएका छन् ।
किर्बी भन्छन्, ‘हामीसँग केही कर संरचना छन्, जुन अलि प्रतिकूल छन्, त्यसैले हामीले आर्थिक रूपमा तटस्थ हुनेगरी नीतिगत प्रस्तावहरू गरेका छौं । यसमा रिबेट प्रणाली पुनः संरचना गर्ने सुझाव पनि छ ।’
‘हामीलाई आशा छ कि आगामी ६ महिनामा केही छोटो अवधि प्रभाव पार्ने कदम घोषणा हुनेछन्,’ उनी थप्छन् ।
हाल टोयोटाको उत्पादन संयन्त्र दक्षिण अफ्रिकामै छ, तर सुरुवाती चरणमा पूर्ण ईभी मोडलहरू आयात गरिनेछन् र पछि केही मोडल स्थानीय रूपमा उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
ईभी सपना साकार पार्न भिनफास्ट संस्थापकको १.५ अर्ब डलरको लगानी
चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट