काठमाडौं । निजी विद्यालयका विषमा विद्यालय शिक्षा विद्येयकमा लेखिएका केही बुँदाप्रति आपत्ती जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । तीन दिनभित्र विद्येयकमा लेखिएका कुरा संसोधन गर्न माग गरेपनि सुनुवाइ नभएको भन्दै प्याब्सन र ऐन प्याब्सनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेको हो ।
घोषणा कार्यक्रममा भदौ ७ सम्म बौद्धिक रुपमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने जनाएको छ । असार १३ गते बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले निजी विद्यालयलाई सेवा मुलक, लोक कल्याणकारी,र क्रमशः नाफामुलक गर्ने भन्दै विधेयक पारित गरेको थियो ।
निजी विद्यालय सञ्चालकहरूले यसमा आपत्ती जनाउँदै यि बुँदा हटाउन तीन दिनको समय दिएको थियो । उनीहरूले विज्ञप्ति निकाल्दै विधेयकमा लेखिएको निजी विद्यालयलाई क्रमशः गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यंश हटाइनुपर्ने, पूर्ण छात्रवृति दिने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने छाज्ञवृति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने भनेका थिए । ति बुँदामा समिति मौन हुँदा प्याब्सन, ऐन प्याब्सनले आन्दोलन घोषणा गरेको हो ।
बिहीबार पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । निजि विद्यालय सञ्चालकहरूले शुक्रबार भोलि जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।
यस्तै भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने भदौ तीन, चार र पाँच प्रदेश स्तरिय आन्दोलन तयारी बैठक बस्ने र ६, ७ गते केन्द्र र प्रदेशस्तरमा अन्तक्रिया गर्ने उल्लेख छ । यति गर्दा पनि यि कुरा हटाइएन भने विद्यालय बन्दसम्म गर्ने चेतावनी दिएको छ ।