रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित काठमाडौं महानगरको सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । 

सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । 

यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।

रवीन्द्र ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । 

सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए। 

उनले भने, ‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु । अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु । यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ ।’

ढाँटले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै बान्टमवेट च्याम्पियनको उपाधि हासिल गरेका हुन् । 

यो जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको रेकर्ड तोडिएको छ । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटरसमेत बने ।
 
यस्तै, महानगरले प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ ।
 
त्यस्तै, खोखोको पुरुष टोलीले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको फाइनलमा आयोजक भारतसँग पराजय बेहोरेको थियो । 

Share News