काठमाडौं । यति एयरलाइन्स लिमिटेडले ९ महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२५/२६ को ९ महिनामा ४ अर्ब ११ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ।
कम्पनीले सन् २०२४ मा ४ अर्ब २५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । अघिल्लो वर्ष सन् २०२३ मा एयरलाइन्स कम्पनीले ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२.७९ प्रतिशत अर्थात् ४८ करोड ३० लाख रुपैयाँ बढीको कारोबार गरेको हो।
यति एयरलाइन्सका अनुसार सन् २०२२ मा ३ अर्ब ९२ करोड रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
सन् २००२ मा स्थापित यति एयरलाइन्स नेपालको सबैभन्दा पुरानो घरेलु एयरलाइन्समध्ये एक हो । कम्पनीसँग ७२ सिट क्षमताका ७ वटा एटीआर विमान सञ्चालनमा रहेका छन् । जसमध्ये ६ वटा खरिद गरिएका हुन् भने एउटा भाडामा लिइएको कम्पनीले जनाएको छ ।
कम्पनीले घरेलु हवाई उद्योगमा १७ प्रतिशत हिस्सा ओगटेको दाबी गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको बजार हिस्सा घटेको देखिएको छ । सन् २०२३ जनवरी १५ मा कम्पनीको नाइनएन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएपछि बजार हिस्सा घटेको कम्पनीले जनाएको छ । यसअघि सन् २०२३ मा कम्पनीको बजार हिस्सा २१ प्रतिशत थियो ।
कम्पनीमा एशियन लाइफ इन्स्योरेन्सको मुख्य सेयर स्वामित्व रहेको छ । कम्पनीमा एशियन लाइफको ४६.८२ प्रतिशत, ल्हाक्पा सोनाम शेर्पाको २५.०३ प्रतिशत र चन्दा शेर्पाको २०.०६ सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष समेत रहेका ल्हाक्पा सोनाम शेर्पासँग पर्यटन क्षेत्रमा ५० वर्षभन्दा बढीको अनुभवसहित यति एयरलाइन्सको नेतृत्व गरिरहेका छन् ।
साथै कम्पनीमा चन्दा शेर्पा प्रबन्ध निर्देशक, नोर्बु छिरिङ शेर्पालाई उपप्रबन्ध निर्देशक र चार्टर्ड एकाउन्टेन्ट सुभास सापकोटा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ३६ करोड १६ लाख रुपैयाँ र २७.१९ मिलियन अमेरिकी डलर ऋण लिएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले २ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ र ७.१९ मिलियन अमेरिकी डलरका दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।
यस्तै, ७५ करोड ७३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि ए ३ रेटिङ र २ अर्ब ६४ करोड ६० लाख रुपैयाँ अल्पकालीन तथा दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।