काठमाडौं । अर्बपति एलन मस्कले सोमबार आफ्नो कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप एक्सएआईले एप्पलविरुद्ध एपस्टोर र्याङ्किङसम्बन्धी विषयमा एन्टिट्रस्ट (प्रतिस्पर्धा विरोधी) नियम उल्लंघन गरेको आरोप लगाउँदै कानुनी कारबाही गर्ने बताएका छन् ।
‘एप्पल यस्तो ढंगले व्यवहार गर्दैछ जसले ओपनएआई बाहेक कुनै पनि एआई कम्पनीलाई एप स्टोरमा #1 स्थानमा पुग्न असम्भव बनाइदिन्छ, जुन स्पष्ट रूपमा एन्टिट्रस्ट उल्लंघन हो । एक्सएआईले तत्काल कानुनी कारबाही गर्नेछ,’ मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
मस्कले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् । एप्पल, ओपनएआई र एक्सएआईले रोयटर्सको टिप्पणीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएका छैनन् ।
हाल अमेरिकामा आइफोनका लागि एप स्टोरको ‘टप फ्री एप्स’ सूचीमा च्याटजीपीटी पहिलो स्थानमा छ भने एक्सएआईको ग्रोक पाँचाैं र गुगलको जेमिनी च्याटबट ५७ औं स्थानमा छ । सेन्सर टावरका तथ्याङ्कअनुसार गुगल प्ले स्टोरमा पनि च्याटजीपीटी नै शीर्ष स्थानमा छ ।
एप्पलको ओपनएआईसँग साझेदारी छ, जसअन्तर्गत च्याटजीपीटीलाई आइफोन, आइप्याड र म्याकमा एकीकृत गरिएको छ ।
‘एप्पल एप स्टोर जब एक्स विश्वकै #1 समाचार एप हो र ग्रोक सबै एपहरूमा #5 छ, तब तपाईं किन एक्स वा ग्रोकलाई ‘मस्ट ह्याभ’ सेक्सनमा राख्न अस्वीकार गर्नुहुन्छ ? के तपाईं राजनीति खेल्दै हुनुहुन्छ ?,’ मस्कले सोमबारको अर्को पोस्टमा लेखेका छन् ।
मस्कको टिप्पणी त्यतिबेला आएको हो जब नियामक निकाय र प्रतिस्पर्धीहरूले एप्पलको एप स्टोर नियन्त्रणमाथि कडा निगरानी बढाएका छन् ।
गत अप्रिलमा अमेरिकी न्यायाधीशले एप्पलले आफ्नो एप स्टोरमा बढी प्रतिस्पर्धा गर्न अनुमति दिनुपर्ने अदालतको आदेश उल्लङ्घन गरेको ठहर गर्दै कम्पनीलाई आपराधिक अवहेलना अनुसन्धानका लागि संघीय अभियोजकलाई पठाएका थिए । यो मुद्दा फोर्टनाइट निर्माता एपिक गेम्सले दायर गरेको हो ।
युरोपेली संघको एन्टिट्रस्ट निकायले गत अप्रिलमा एप्पललाई ५० करोड युरो (५८ करोड ७० लाख डलर) जरिवाना लगाएको थियो, जसमा उसले प्रविधिक र व्यावसायिक प्रतिबन्ध लगाई विकासकर्ताहरूलाई एप स्टोरबाहिर सस्तो डिलहरूमा प्रयोगकर्तालाई लैजान नदिएको, डिजिटल मार्केट्स एक्टको उल्लङ्घन गरेको निष्कर्ष निकालेको थियो ।
अलिबाबाबाट अर्बौं कमाएका सोन ३०० वर्ष टिक्ने एआई साम्राज्य बनाउँदै
४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास