काठमाडौं । मसयोसी सोनले सफ्टबैंक कृत्रिम बौद्धिकता (एआई) द्वारा सञ्चालित क्रान्तिको केन्द्र बन्ने विश्वास लिएका छन् ।
सोनको भनाइमा कृत्रिम सुपर इण्टेलिजेन्स (एएसआई) — जसको क्षमता मानिसभन्दा १० हजार गुणा बढी बुद्धिमान हुने बताइन्छ, १० वर्षभित्रै आउनेछ । यसका लागि उनले आजसम्मकै ठूलो जोखिम मोल्दैछन् ।
उनले विगतमा पनि ठूलो जोखिम लिएका छन्– जसको एक उदाहरण सन् २००० मा चिनियाँ ई–कमर्स कम्पनी अलीबाबामा गरेको २० मिलियन डलरको लगानी हो, जसबाट सफ्टबैंकले अर्बौं डलर कमाएको छ ।
अर्बपति उद्यमीले एआई क्षेत्रमा लगानी र अधिग्रहणमार्फत सोही सफलता दोहोर्याउने लक्ष्य लिएका छन्, जसले सफ्टबैंकलाई आधारभूत प्रविधि परिवर्तनको केन्द्रमा पुर्याउनेछ ।
गत वर्षदेखि उनले सार्वजनिक रूपमा एआईको दृष्टिकोण व्यक्त गर्दै आएको भए पनि सफ्टबैंकका दुई पूर्व कार्यकारीका अनुसार यो सोच धेरै पहिलेबाट नै थियो ।
सफ्टबैंकका पूर्व वित्त प्रमुख र पूर्वअध्यक्ष आलोक सामाले सन् २०१६ सम्मको अनुभव सुनाउँदै भने, ‘पहिलोपटक जब म उनको घरमा डिनरका लागि गएँ, वाइनको ग्लाससँगै उनको बरन्डामा बस्दा उनले ‘सिंगुल्यारिटी’ — अर्थात मेशिन इण्टेलिजेन्सले मानव बौद्धिकतालाई पार गर्ने क्षण बारे कुरा गर्न थाले ।’
सफ्टबैंकको एआई रणनीति
सोनका लागि एआई व्यक्तिगत महत्त्वको विषय हो ।
‘सफ्टबैंक किन स्थापना भएको हो ? म सोन किन जन्मेको हुँ ? अचम्म लाग्न सक्छ, तर म एएसआईलाई साकार गर्न जन्मिएको हुँ भन्ने लाग्छ,’ उनले गत वर्ष भनेका थिए ।
२०१६ मा सफ्टबैंकले करिब ३२ अर्ब डलरमा चिप डिजाइनर ‘आर्म’ किनेको थियो । आज ‘आर्म’को मूल्य १४५ अर्ब डलरभन्दा बढी छ । आर्मको डिजाइनले विश्वका अधिकांश स्मार्टफोनको आधार निर्माण गर्छ, तर हाल कम्पनी एआई पूर्वाधारको प्रमुख खेलाडी बन्न खोज्दैछ ।
यही मेसोमा सफ्टबैंकले अर्को चिप डिजाइनर ‘एम्पियर कम्प्युटिङ’लाई ६.५ अर्ब डलरमा किन्न योजना घोषणा गर्यो
च्याटजीपीटी निर्माता ‘ओपनएआई’मा पनि सफ्टबैंकको ठूलो लगानी छ । कम्पनीले हालै ओपनएआईमा करिब ४.८ ट्रिलियन जापानी येन (३२.७ अर्ब डलर) लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
रोबोटदेखि एआईसम्मको यात्रा
२०१० मा ‘सफ्टबैंकको आगामी ३० वर्षको दृष्टि’ सार्वजनिक गर्दै सोनले ‘ब्रेन कम्प्युटर’ — आफै सिक्ने र प्रोग्राम गर्ने प्रणालीको अवधारणा राखेका थिए ।
२०१२ मा सफ्टबैंकले फ्रान्सेली कम्पनी ‘अल्डेबारेन’मा बहुमत हिस्सेदारी किन्यो । दुई वर्षपछि उनीहरूले ‘पेपर’ नामक मानवीय भाव बुझ्न सक्ने व्यक्तिगत रोबोट बजारमा ल्याए ।
तर पेपरको परियोजना सफल भएन । २०२० मा उत्पादन बन्द भयो र २०२२ मा सफ्टबैंकले अल्डेबारेनलाई जर्मन कम्पनीलाई बेच्यो ।
सोनको प्रारम्भिक रोबोट चासोले भविष्यका एआई एप्लिकेशनप्रति उनको गहिरो रुचि देखायो ।
भिजन फन्ड र ठूला जोखिमहरू
२०१७ मा सोनले १०० अर्ब डलरको ‘भिजन फन्ड’ स्थापना गरे, जसले उबर, चिनियाँ ‘डिडी’ लगायतमा ठूलो लगानी गर्यो । तर वर्कस्पेस कम्पनी ‘वीवर्क’ जस्ता असफल लगानीले २०२३ सम्ममा अर्बौं डलर घाटा निम्त्यायो ।
पूर्व भिजन फन्ड साझेदारका अनुसार ती लगानीहरू पनि सोनको एआई दृष्टिकोणसँग जोडिएका थिए– जसमा पहिलो एआई एप्लिकेशन ‘स्व–चालित कार’ हुने विश्वास थियो । तर समयभन्दा अगाडि भएको कारण परिणाम सीमित रह्यो ।
जोखिम र अवसर
आज अमेरिकी र चिनियाँ प्रविधि दिग्गजहरू ‘कृत्रिम साधारण बौद्धिकता’ (एजीआई) प्राप्त गर्न होडमा छन् । यस क्षेत्रमा लगानीको जोखिम उच्च छ, तर सम्भावित लाभ अझै उच्च हुनसक्छ ।
यो वर्ष चिनियाँ कम्पनी ‘डिपसीक’ ले अमेरिकी प्रतिस्पर्धीभन्दा सस्तोमा विकसित गरिएको ‘रिजिनिङ मोडेल’ सार्वजनिक गर्दा विश्व बजार हल्लिएको थियो ।
सोनको लक्ष्य सफ्टबैंकलाई ३०० वर्षसम्म टिक्ने ‘डीएनए’ दिने हो । उनका पूर्व सहकर्मीका शब्दमा ‘उनले केही गल्ती गरे, तर दिशा एउटै हो– उनी एआईमा वास्तविक खेलाडी बन्न चाहन्छन् र त्यो सम्भव बनाउन लागेका छन्।’
४ ट्रिलियन डलर क्लबमा एनभीडीया, एआई क्रान्तिको अग्रणीले रच्यो नयाँ इतिहास