काठमाडौं । नेपाली तारे होटलमा नास्तासँगै बारा, अम्लेट, जेरीजस्ता परिकार लाइभ-किचनमार्फत प्रस्तुत गर्ने चलन पुरानै हो । कोदोका परिकारलाई उच्च महत्वसहित पस्केका उदाहरण भने दुर्लभ छन् । पछिल्लो समय कोदो, फापरजस्ता नेपाली रैथाने खानाले चर्चा पाइरहँदा बुढानिलकण्ठस्थित होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकार लाइभ-किचनमार्फत प्रस्तुत गरेको छ ।
पाँच तारे होटलको दर्जामा रहेको सो रिसोर्टले गत शनिवार प्रस्तुत गरेका दर्जनौं परिकारमध्ये कोदोको सेल रोटी विशेष चर्चामा रह्यो । ग्राहककै अगाडि तयार बासना दार सेल रोटीले नेपालीमात्र नभइ विदेशी पाहुनाको पनि मुख रसाएको थियो । रिसोर्टको डाइनिङ हल नै सेल रोटीको बासनाले भरिएपछि विदेशी पाहुनाले यसबारे विशेष चासो राखेका थिए । कोदोको सेल रोटी नौलो लागेर सोधपुछ गरेका उनीहरुले पछि भने रोटी थपी-थपी खाए ।
रिसोर्टमा रहेका कतिपय नेपाली पाहुनाले भने सेल रोटी प्याक गरेरै घर लान इच्छा देखाएका थिए । नेपाली परिकारको छुट्टै लाइभ-किचन रहेको स्टलमा कोदोको सेल रोटीका अतिरिक्त कोदोको मफिन, कोदोको प्यान केक, शेर्पा समुदायमा प्रचलित रिकीकुर र पानको लड्डु प्रस्तुत गरिएको थियो ।
नेपाली खाना प्रवर्द्धन अभियान अन्तर्गत भोजनलिपि स्वादले उक्त परिकार पस्केको हो । नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्यसहित खाना अनुसन्धानमा सक्रिय सेफ घनश्याम कँडेल नेतृत्वको टोलीले यसलाई मूर्तरूप दिएको हो । उनको टोलीमा सेफ इङ्वा सुब्बा, मान बहादुर तामाङ र सङ्गम मोक्तानले सघाएका थिए ।
विदेशी पाहुना बस्ने ठूला तारे होटलमा नेपाली मौलिक खानाको छुट्टै किचन र परिकारको व्यवस्था अनिवार्य गर्नसके नेपाली खानाको प्रवर्द्धन छिटो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् । होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाह रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँछन् ।
‘नेपाली रैथाने खाना संरक्षण र प्रवर्द्धनसँगै यसको व्यावसायिकतालाई पनि जोड्नुपर्छ,.’ अध्यक्ष शाहले भने, ‘नेपाली खानाको धेरै माग छ । ठूला तारे होटलमा नेपाली मेन्युमा आवश्यक छ ।’
अध्यक्ष शाहका अनुसार हानको ६०औँ वर्षगाँठको उपलक्ष्यमा ६० प्रकारका रैथाने खानाको परिकारसम्बन्धी पुस्तक प्रकाशनको तयारीमा छ ।
नेपाली पर्यटकको चहलपहल बढी हुने ठाउँ र विदेशी पर्यटक बस्ने तारे होटलमा अभियान केन्द्रित गर्ने योजना रहेको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए ।
‘नेपालीलाई नेपाली खानाबारे बुझाउने र सँगसँगै विदेशी पाहुना लक्षित कार्यक्रम बढाउने हो,’ संयोजक सापकोटाले भने ।
सेफ कँडेलले नेपाली खानालाई प्रवर्द्धन गर्न पाँच तारे होटलमा नेपाली किचन अनिवार्य राख्नुपर्ने आवश्यकता औँल्याए । विदेशीले नेपालमा नेपाली परिकार खान सक्ने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।
पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले नेपाली खाना स्वस्थकर र पोसिला भएकाले मेनुमा यसलाई समावेश गर्नुपर्नेमा जोड दिए ।
‘यसको प्रचार प्रसारमा केही समय लाग्छ । तर विस्तारै कोदो फापर सिस्नो जस्ता परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नसके सबै होटल रेष्टुराँमा विदेशी पर्यटकले खाना खाने अवस्था आउँछ,’ उनले भने ।
अभियानले यसअघि विभिन्न रेस्टुराँ मार्फत नेपाली खानाको प्रवर्धनात्मक कार्यक्रम भोजनलिपि स्वादका पाँच सँस्करण सम्पन्न गरिसकेको छ । यस क्रममा ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार तयार पारिएको अभियानका संयोजक सापकोटाले जानकारी दिए ।