काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ३ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा १४ बीमा कम्पनीहरूले २५ लाख ८६ हजार ३१३ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर ३ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
कुल वैदेशिक रोजगार बीमा व्यवसायमा एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा सबैभन्दा धेरै देखिएको छ । तथ्यांकअनुसार एसियन लाइफ र सन नेपाल लाइफको हिस्सा हिस्सा क्रमशः २९.५३ प्रतिशत र २९.०९ प्रतिशत रहेको छ ।
गत आवमा एशियन लाइफले ३७ हजार ७०१ बीमालेख जारी १ अर्ब ५ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सन नेपाल लाइफले १ अर्ब ३ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने अर्को कम्पनी आईएमई लाइफ इन्स्योरेन्स रहेको छ । वैदेशिक रोजगार बीमा व्यवसायमा आईएमई लाइफको हिस्सा ६.९९ प्रतिशत रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ हजार १०१ बीमालेख जारी गरी कुल २४ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
यस्तै, नेपाल लाइफको बजार हिस्सा पनि लगभग आईएमई लाइफको समान छ । समीक्षा आवमा नेपाल लाइफले ५ हजार १५१ बीमालेख जारी गरेर कुल २४ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, वैदेशिक रोजगार बीमालेखमा नेशनल लाइफको हिस्सा ५.४९ प्रतिशत रहेको छ । गत आवमा नेशनल लाइफले ३ हजार २४ बीमालेख जारी गरी १९ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
समीक्षा वर्षमा सानिमा रिलायन्स लाइफले १७ करोड ३८ लाख रुपैयाँ, सिटिजन लाइफले १७ करोड २१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १४ करोड ६९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ७० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ११ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
वैदेशिक रोजगार बीमा व्यवसायमा यी कम्पनीहरूको बजार हिस्सा क्रमश : ४.८६ प्रतिशत, ४.८२ प्रतिशत, ४.११ प्रतिशत, ३.२७ प्रतिशत र ३.१९ प्रतिशत रहेको छ।
वैदेशिक रोजगार बीमालेखमा लिवर्टी माइक्रो लाइफको हिस्सा ०.७५ प्रतिशत रहेको छ । गत आवमा लिवर्टी माइक्रोले २ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, क्रेस्ट माइक्रोको बजार हिस्सा ०.५६, हिमालयन लाइफ ०.२९ र गार्डियन माइक्रोको ०.१२ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा क्रेस्ट माइक्रो लाइफले १ करोड ९९ लाख रुपैयाँ, हिमालयन लाइफले १ करोड ५ लाख रुपैयाँ र गार्डियन माइक्रो लाइफले ४१ लाख ४० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।