काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको अक्सनमा चारवटा खेलाडी धेरै रुचाइएका छन् । शनिबार भएको अक्सनमा चारवटा खेलाडी अधिकतम १५ लाख रुपैयाँमा बिक्री भए । ती चारवटै खेलाडीलाई खरिद गर्नका लागि अधिकांश टीम तयार भए ।
तर, लक्की ड्रमार्फत भाग्यमानी टीमले उनीहरूलाई पाउन सफल भए । अक्सनमा सबैभन्दा बढी रुचाइएका ए क्याटेगोरीका खेलाडी हुन् मोहम्मद आदिल आलम । जसको लागि आठवटै टिमले बोलकबोल गरे ।
लक्की ड्रमार्फत् उनी काठमाण्डू गुर्खाजमा आवद्ध भए । १५ लाख रुपैयाँमा उनलाई पाउन गुर्खाज भाग्यवानी सावित भयो ।
यस्तै, पवन सर्राफ, देव खनाल र अर्जुन साउदलाई पनि दुईभन्दा बढी टिमले बोलकबोल गरे । पवनका लागि कर्णाली, चितवन, लुम्बिनी र विराटनगरले अन्तिमसम्म बोली लगाएका थिए । तर, उनलाई पाउन कर्णाली भागमानी बन्यो । उनी पनि १५ लाखमा बिक्री भए ।
अक्सनमा अर्जुनलाई पाउनका लागि चितवन, कर्णाली र विराटनगरबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत चितवनले उनलाई १५ लाखमा अनुबन्ध गर्यो ।
यस्तै, देव खनाल पनि १५ लाखमा बिक्री भए । अक्सनमा चितवन राइनोज र लुम्बिनी लायन्सले १५ लाख रुपैयाँको नै बोली लगाएपछि गोलाप्रथाबाट चितवन राइनोज भाग्यमानी सावित भयो । उनी यसअघि कर्णाली याक्समा थिए ।
‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको थियो । अक्सनमा ए खेलाडीको १० लदाख तोकिए पनि उनीहरू भने त्यसको ५० प्रतिशत बढी मूल्यमा बिक्री भए । ‘ए’ श्रेणीमा कुल आठजना खेलाडी रहेका थिए ।