काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौंको सहकार्यमा आयोजना गरेको तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ साउन २१ देखि २३ गतेसम्म कलेज परिसरमा सम्पन्न भएको छ ।
महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधन मोडल, रोबोटिक सहायक, कृषक तथा विभिन्न एनिमेशन अनुभवहरूले दर्शकको विशेष ध्यान खिचे । साथै, डिजिटल सुरक्षा, कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशाला पनि आयोजना गरिएको थियो ।
मुख्य समन्वयकर्ता अनिशा आचार्यका अनुसार, फ्युचरामाले प्रविधिमा रुचि राख्ने युवालाई प्रयोगात्मक सिकाइको अवसर प्रदान गर्दै आत्मविश्वास, नवीनता र उद्यमशीलताको सोच विकास गर्न मद्दत पुर्याएको छ ।
कार्यक्रमको अन्तिम दिनमा ‘कफी रेभ’ आयोजना गरिएको थियो । तीन दिनको अवधिमा ३,५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, फ्युचरामा २०२५ अन्य प्रमुख शहरहरूमा पनि आयोजना गरिनेछ, जसले देशभरका युवामा प्रविधिप्रतिको सहभागिता र नवीनताको चेतना फैलाउने लक्ष्य राखेको छ ।