जोखिमपूर्ण यात्राले ज्यान जान सक्छ, एकै दिन तराइबाट हिमाल भ्रमण नगरौं

काठमाडौं । होटल सङ्घ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । सङ्घका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले विज्ञप्तिमा जारी गर्दै नेपालको सीमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायत जोखिम बढेको उल्लेख गरेका छन् । 

पर्यटकलाई आराम गर्दै वातानुकूलित हुँदै यात्रा गर्ने वातावरणका लागि सम्बन्धित ट्राभल एजेन्सी, टूर अपरेटर र सरोकारवाला समक्ष सङ्घले अपिल गरेको छ । 

‘आफ्नै सवारी लिएर सानो समूहमा यात्रा गर्ने पर्यटकलाई समेत यस्तो जोखिमपूर्ण यात्रा नगराउन हामी सुझाव दिन चाहन्छौं । यस्तो जोखिमपूर्ण प्रवृत्तिलाई न्यूनीकरण गर्न सरकारी स्तरबाट समेत आवश्यक पहल अगाडि बढाउन हाम्रो अनुरोध छ । यसले पर्यटकको सुरक्षाका अतिरिक्त पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन पनि मद्दत पुग्ने छ,’ विज्ञप्तिमा भनिएको छ । 

पर्यटनको राजधानी पोखरा हुँदै दैनिक हजारौं पर्यटक विभिन्न ठाउँमा आवतजावत गर्ने गरेको उल्लेख गर्दै विज्ञप्तिमा पर्यटनको सन्दर्भमा मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्त्वपूर्ण हुने विषय पनि स्मरण गराइएको छ ।

पछिल्ला दिनमा नेपालको दक्षिण सीमावर्ती क्षेत्र र तराईबाट पोखरा हुँदै एकै दिनमा मुक्तिनाथ पुगेर पोखरा फर्कने पर्यटकहरूको ठूलै सङ्ख्या भेटिन थालेको विषय उल्लेख गर्दै सङ्घले भनेको छ, ‘होटल सङ्घ नेपाल, गण्डकी यस्तो प्रवृत्तिलाई प्रोत्साहन गरिनुहुन्न भन्ने पक्षमा रहेको छ । समुद्र सतहबाट १ सय मिटर हारहारीको उचाइ रहेको तराई क्षेत्रबाट ८ सय मिटर उचाइको पोखरा उल्किएर उही दिन ३ हजार ७१० मिटर उचाइको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यका लागि निकै नकारात्मक कुरा हो ।’ 

होचो उचाइबाट एकै दिन एकतर्फी साढे ३ सय किलोमिटरभन्दा लामो अनि उचाइ तिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडी पूर्ण मात्र नभई बर्खा यामको रात्रि कुँदाई अत्यन्त जोखिमयुक्त पनि हुनसक्ने विज्ञप्तिमा भनिएको छ । यस्तो कार्यले एकातिर पर्यटकलाई लेक लागेर ज्यानै जानसक्ने जोखिम बढाएको छभने अर्कातिर पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने खतरातर्फ पनि सङ्घले सचेत गराएको छ ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीटजरल्याण्डका १/१ जना नागरिक रहेको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले बाहिर ल्याएको छ । 

यस्तै मुस्ताङ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उक्त जिल्लामा मात्र २०८१ सालमा लेक लागेर ज्यान गुमाउनेमा ८ जना भारतीय, २ नेपाली र एक जना अमेरिकी नागरिक रहेका छन् । यसरी ज्यान गुमाउने पनि भारतीय पर्यटककै सङ्ख्या बढी रहन गएको छ । केही दिनअघि काठमाडौंबाट हेलिकप्टरमा सिधै सगरमाथा क्षेत्र पुगेका १ अष्ट्रेलियाली पर्यटकलाई लेक लागेपछि काठमाडौँ फर्काइएको पनि सङ्घले उल्लेख गरेको छ ।

Share News