नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडीको आकर्षण र विशेष अफरको होडबाजी

बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडाले के–के ल्याए नयाँ सुविधा ?

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) लाई लिएर  विशेष रौनक छाएको छ । 

एक्स्पोमा विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीहरूका नयाँ मोडल, अत्याधुनिक प्रविधि र आकर्षक छुटका साथ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यही भीडमा बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडा जस्ता ब्रान्डहरूले पनि नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफरहरू पनि रहेका छन् । 

बीवाईडीः विश्वकै उत्कृष्ट ह्याचब्याक नेपालमा पहिलो पटक

साईमेक्सकी शोरुम म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यो एक्स्पोलाई लक्षित गरी विश्वकै उत्कृष्ट ह्याचब्याक मध्येको एक मानिने ‘एटो वान’ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ । 

‘यो गाडी नेपालमा पहिलो पटक आएको हो । ग्राहकहरूको अत्यधिक माग र अनुरोधपछि हामीले नाइमालाई नै सही समय मानेर यो गाडी लन्च गरेका हौं,’ श्रेष्ठले भनिन् । 

null

एटो वान दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडीको सबैभन्दा ठूलो विशेषता यसको ‘ब्लेड ब्याट्री टेक्नोलोजी’ र ‘ई–प्लेटफर्म ३.०’ हो । यी दुवै विशेषता एटो वानमा उपलब्ध छ ।

एटो वानको खरिदमा डेढ लाख बराबरको बेनिफिट प्याकेज दिइएको छ । जसमा बीमा, सडक कर, एसेसरिज र पोर्टेबल चार्जर समावेश छन् । त्यस्तै, ७५ लाख पर्ने बीवाईडी सिलमा ‘अर्ली बर्ड बुकिङ’ अफर अन्तर्गत ७२ लाखमा गाडी पाउनुका साथै बीमा, कर र अन्य एसेसरिजहरू पनि उपलब्ध छन् । 

हुन्डाईः नेपाली सडक सुहाउँदो ‘क्रेटा ईभी’

हुन्डाईका सेल्स इन्चार्ज सुरेश श्रेष्ठले एक्स्पोमा ‘क्रेटा ईभी’ मुख्य आकर्षण बनेको जानकारी दिए । ‘हामीले क्रेटा ईभी, क्रेटा पेट्रोल, भेन्यू, ग्रान्ड आईटेन र आयोनिक फाइभ जस्ता पाँचवटा गाडी राखेका छौं । तर सबैभन्दा बढी माग क्रेटा ईभीको छ,’ उनले भने ।

क्रेटा ईभी ५१ लाख ९६ हजारबाट सुरु भई ७७ लाख रुपैयाँसम्मको पाँच भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती तीन भेरियन्टले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ भने टप दुई भेरियन्टले ४७० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । 

null

श्रेष्ठका अनुसार गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।’ ब्याट्रीको आयु लगभग १४–१५ वर्षसम्म रहने दावी उनले गरे । 

एक्स्पोमा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, सडक कर र लक्की ड्र मार्फत भियतनाम टुरको अवसर जस्ता विभिन्न सुविधा छन् । 

महिन्द्राः अत्याधुनिक प्रविधिसहितको नयाँ ईभी

अग्नि महिन्द्रा ग्रुपका ईभी सेल्स म्यानेजर सागर भट्टराईले एक्स्पोमा तीनवटा नयाँ गाडी लन्च गरेको जानकारी दिए ।  बीई ६, एक्सईभी नाइन ई र पेट्रोल गाडी एक्सयूभी थ्री एक्स ओ । बीई ६ को मूल्य ५७ देखि ६८ लाखसम्म छ भने एक्सयूभी नाइन ईको मूल्य ६९ देखि ९५ लाखसम्म रहेको छ ।

यी गाडीहरूमा ‘इन्टेलिजेन्ट एड्याप्टिभ सस्पेन्सन’ जडान गरिएको छ जुन नेपालको खाल्डाखुल्डी बाटोका लागि निकै उपयोगी छ ।
 
साथै क्वालकमको स्न्यापड्र्यागन प्रोसेसर, १ हजार ४०० वाटको हार्मन कार्डन स्पिकर, ३६० डिग्री क्यामेरा र गाडी आफै पार्क हुने ‘अटो पार्क’ जस्ता अत्याधुनिक फिचरहरू छन् । टप मोडलले एक पटकको चार्जमा ४५० किलोमिटरको रेन्ज दिने भट्टराईले दावी गरे।

नाईमा एक्स्पोमा गाडी बुक गर्नेहरूका लागि भेरियन्टअनुसार २ लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ ।

प्रोटोनः शून्य प्रतिशत ब्याजदरको अनौठो अफर

जगदम्बा मोटर्सका सेल्सका सुजन श्रेष्ठले मलेसियन ब्रान्ड प्रोटोनले ‘ई–मास सेभेन’ का दुई भेरियन्ट रहेको जानकारी दिए–  प्राइम र प्रिमियम । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइमले ३४५ किलोमिटर प्रिमियमले ४१० किलोमिटर रेन्ज दिन्छ ।

गाडी घरको सामान्य चार्जरबाट ६-७ घण्टामा फुल चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट मात्र २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

null

प्रोटोनले एक्स्पोका लागि सबैभन्दा फरक अफर ल्याएको छ । गाडीको कुल मूल्यको ६० प्रतिशत रकममा चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको छ । साथै ब्याट्रीमा आठ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ । जुन पहिले १ लाख ६० हजार किलोमिटरमा सीमित थियो । 

ओमोडाको जेको जे- ५ नाइमा एक्स्पोमा

ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ राखेको छ । यो प्रिमियम एसयुभी भेरियन्ट हो । कम्पनीका अनुसार जे–५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । 

यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् । 

यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । 

कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। 

null

सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको जनाइएको छ । 

एक्स्पोको अवसरमा यो गाडी ग्राहकले ५६ लाख ९९ हजार रुपैयाँमै पाउनेछन् । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक भएको थियो ।

नाडा मोबिलिटी एक्स्पो नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभएर ग्राहकका लागि उत्कृष्ट डिल र अफर प्राप्त गर्ने अवसर पनि बनेको छ । कम्पनीहरूबीचको यो प्रतिस्पर्धाले नेपाली अटोमोबाइल बजारलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाएको छ ।

Share News