काठमाडौं । सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयको गत आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको छ । त्यसै गरी सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ ।
२०८२ बैशाख २२ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो ।
नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट संचालित कम्पनी हो । पूर्व बैंकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह कम्पनीको अध्यक्षत छन् । कम्पनीको व्यवस्थापन पूर्व बैंकर तथा पूर्व बीमक रमेशकुमार भट्टराईले नेतृत्व गरिरहेका छन् ।
सम्पत्ति व्यवस्थापन कम्पनी ऐन नआउन्जेल यसले निष्कृय कर्जाको समस्यामा परेका ऋणीहरू तथा पुँजी विस्तार गरी उद्योग व्यवसाय राम्ररी चलाउन चाहने व्यवसायीलाई कर्पोरेट एडभाइजरीको सेवा प्रदान गरिरहेको र कम्पनी विगत तीन वर्षदेखि लगातार खुद नाफामा सञ्चालन भईरहेको प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले बताए ।
बैंक वित्तीय संस्थामा निष्कृय कर्जाको समस्या चुनौतीको रुपमा रहेको विद्यमान अवस्थामा यसको समाधानको लागि नेपाल राष्ट्र बैंक र सरकार दुवै सम्पत्ति व्यवस्थापन कम्पनी ऐन ल्याउन लागि परेका छन् । ऐनको मस्यौदा तयार भइसकेको भएता पनि पुँजी कति राख्ने भन्ने विषयमा द्विविधामा रहेको देखिन्छ । छिमेकी मुलुक र अन्तर्राष्ट्रिय अभ्यास अनुसार खर्वौको निष्कृय कर्जा व्यवस्थापन गर्न कर्जाको प्रकृति र साइज अनुसार साना ठूला कम्पनी आवश्यक पर्दछ । नेपालको “क”, “ख”, “ग”, “घ” वर्गको वित्तीय स्वरूप हेर्दा सम्पत्ति व्यवस्थापन कम्पनी पनि साना, मध्यम र ठूला पुँजी हुने सबै प्रकारका कम्पनी आवश्यक पर्ने देखिन्छ ।
नेक्सजेन म्यानेजमेन्टले यहि आवश्यकता महसुस गरेर पूर्व तयारीको लागि हाललाई एक अर्ब सम्म जाने गरी पूँजी वृद्धि गरेका कम्पनीका प्रबन्ध सञ्चालक भट्टराईले बताए । साथै भविष्यमा आवश्यकता अनुसार सर्वसाधारणलाई पनि यो कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्ट्याएको उनले बताए । कम्पनीले कार्यक्षेत्र विस्तारको क्रममा भविष्यमा विभिन्न सहायक कम्पनीहरू स्थापना गर्दै सम्पत्ति व्यवस्थापन कम्पनीलाई सशक्त र प्रभावकारी संस्था बनाउने लक्ष्य राखेको उनले बताए ।