काठमाडौं । बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक औपचारिक समारोहमा शपथ गराएका हुन् । मंगलबार दिउँसो बानियाँलाई प्रदेश प्रमुख देवकोटाले बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा संयुक्त सरकार गठनको दाबी पेश गरेका थिए । ११० सदस्यीय प्रदेश सभामा दुवै पार्टी मिलेर ६४ सांसदको बहुमत हासिल भएकाले बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।
बानियाँअघि बागमती प्रदेशमा डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री बनिसकेका छन् ।