काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलबीच विदेशी प्रत्यक्ष लगानी, प्रविधि स्थानान्तरण, तथा रेमिट्यान्समार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि आवश्यक रणनीतिमाथि गहन छलफल भएको छ ।
पोर्चुगलमा आयोजित उक्त भेटघाटमा नेपाललाई साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, र अध्यात्मिक रिट्रीट को प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा पनि विशेष जोड दिइएको थियो । साथै, रेमिट्यान्सलाई उत्पादनशील र दीर्घकालीन फाइदाजनक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले औपचारिक नेटवर्क निर्माण गर्ने विषयमा सहमति भएको छ ।
छलफलका क्रममा राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपाली समुदायका समस्या समाधानमा आफू निरन्तर लागि परेको जानकारी दिँदै नेपाली आप्रवासीको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य जारी रहेको बताए । साथै, पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि प्रभावकारी योजना निर्माण भइरहेको उनले उल्लेख गरे ।
यसबाहेक, पोर्चुगलस्थित नेपाली मिसन र नेपाल उद्योग वाणिज्य महासंघ (सीएनआई) बीचको संस्थागत सहकार्यबारे समेत विस्तृत छलफल गरिएको थियो ।